काठमाडौँ ,०५ फागुन / लामो समयदेखि वाणिज्य बैंकमा अधिक लगानीयोग्य पुँजी (तरलता) कायमै छ । बैंकहरूसँग कर्जा प्रवाह गर्ने अधिक क्षमता भए पनि नयाँ कर्जाको माग उत्साहजनक आउन नसकेको बैंकरहरू बताउँदै आएका छन् । चालु आर्थिक वर्षको सात महिनासम्ममा ५९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले जनाएको छ । यो सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूको निक्षेप हो ।
गत असारमा प्रणालीमा ५७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप थियो । यसअनुरूप चालु आवको माघसम्ममा बैंकहरूको निक्षेप संकलन ४.२१ प्रतिशत अर्थात् २ खर्ब ४२ अर्ब रुपैयाँ थपिएको छ । कर्जा विस्तार वृद्धि भएको छ । चालु आव सुरु भएयता गत कात्तिकमा निक्षेप संकलन घटेको थियो तर यसपछि हरेक महिना वृद्धि भइरहेको छ । विशेष गरेर नेपालमा रेमिट्यान्स भित्रिने क्रम बढेकाले पनि निक्षेपमा राम्रै सुधार भएको हो ।
यता कर्जामा भने अझै उत्साहजनक वृद्धि नभएको बैंकरहरू नै बताउँछन् । यद्यपि चालु आवको ७ महिनामा कर्जा वृद्धि ५.६२ प्रतिशतले वृद्धि भएको छ । गत असारसम्म वाणिज्य बैंकहरूबाट ४५ खर्ब ७१ अर्ब कर्जा प्रवाह भएकोमा हाल माघसम्ममा ४८ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानीमा छ ।
यसबीच २ खर्ब ५७ अर्ब रुपैयाँबराबरको थप कर्जा प्रवाह भएको छ । मासिक रूपमा कर्जाको विश्लेषण गर्दा कात्तिकमा भने २ अर्ब घटेको कर्जा प्रवाह मंसिरमा ४२ अर्ब रुपैयाँले, पुसमा थप ९४ अर्ब र माघमा १२ अर्ब रुपैयाँले थप प्रवाह भएको छ । बैंकसँग भएको पुँजीको तुलनामा अझै कर्जा प्रवाह पर्याप्त देखिँदैन । किनभने यतिबेला (माघ ३० गतेसम्म) बैंकहरूको लगानी योग्य क्षमता खुकुलो अर्थात कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.३५ प्रतिशतमा सीमित छ । नीतिगत व्यवस्थाअनुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्न पाउँछन् ।
कतिपय बैंकको सीडी रेसियो कम देखिएर लगानी क्षमता धेरै भए पनि कर्जा दिन नसक्ने अवस्थामा छन् । यसैबीच सबैभन्दा अधिक क्षमता भएको अर्थात् थोरै सीडी अनुपात ६३.९६ प्रतिशत भएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल आफूहरूसँग अधिक पुँजी भए पनि केही पुँजी ‘टायर २’ अन्तर्गत व्यवस्थापन गर्नु परेको बताउँछन् । ‘कर्जाको माग पनि छ । हामीले दिँदै आएका पनि छौं । सीडी रेसियो कम देखिएर क्षमता अधिक देखिएको मात्रै हो । तर कर्जा नोक्सानी व्यवस्थाको रकम व्यवस्थापन गर्नु परेकाले नियामकीय पुँजीकोष पुगेको छैन,’ उनले अन्नपूर्णसँग भने ।
चालु आवको आधा वर्षभन्दा बढी अवधि बितिसकेको छ तर सरकारले यस आर्थिक वर्ष २०८१/८२ को लागि निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ । तर अहिले बैंकहरूले कर्जा प्रवाह गर्न पर्याप्त पुँजी हुँदा पनि बढाउन अझै नसकेकाले यो लक्ष्य हासिलमा चुनौती देखिन्छ । अर्कोतर्फ सरकारले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेटमा अनुमान गरिएबमोजिम ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिने भनेको छ । यसर्थ, आर्थिक वृद्धि बढाउन पनि अब थप कर्जा प्रवाह हुन जरुरी भएको अर्थविद्हरू बताउँछन् । यद्यपि अब विस्तारै कर्जा बढ्ने अपेक्षा भने छ ।
कर्जा विस्तारमा कुन बैंक अगाडि ?
चालु आवको माघसम्ममा बैंकहरूको कर्जा लगानी बढी गर्नेमा ग्लोबल आईएमई बैंक अघि देखिन्छ । जसले यस अवधिमा बैंकले ४० अर्ब ५७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यसको कुल कर्जा प्रवाह ४ खर्ब ३१ अर्ब रुपैयाँ छ ।
यस्तै, माघसम्ममा कृषि विकास बैंकले २ खर्ब ७ अर्ब, सिटिजन्स बैंक इन्टरनेसनलले १ खर्ब ६८ अर्ब, एभरेस्टले २ खर्ब २० अर्ब, हिमालयनले २ खर्ब ५० अर्ब, कुमारी बैंक ३ खर्ब १ अर्ब, लक्ष्मी सन्राइजले २ खर्ब ८१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
यसबाहेकले पनि क्रमशः माछापुच्छ्रेले १ खर्ब ४३ अर्ब, नबिलले ४ खर्ब ११ अर्ब, नेपाल बैंकले २ खर्ब २४ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगाले ३ खर्ब ५१ अर्ब, नेपाल एसबीआई १ खर्ब ३९ अर्ब, एनआईसी एसियाले २ खर्ब ५२ अर्ब, एनएमबीले २ खर्ब ३२ अर्ब, प्रभुले २ खर्ब ३४ अर्ब, प्राइम कमर्सियलले २ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८३ अर्ब, सानिमाले १ खर्ब ७७ अर्ब, सिद्धार्थले २ खर्ब १६ अर्ब बराबरको लगानी विस्तार गरेका छन् । आजको आन्नपुर्ण पोष्टबाट