सहकारीले आफ्ना सदस्यहरुलाई ठगी गरेर भाग्ने गरेका घटना निकै सुनिन्छन् । यही श्रृंखलामा अर्को ठगीकाण्ड प्रकाशमा आउको छ । पछिल्लो घटना महोत्तरीको हो ।
आफ्ना बचतकर्ताबाट संकलन गरिएको चार करोडभन्दा बढि रकम हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको जलेश्वरस्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीलाई पक्राउ गरेको प्रहरी सुत्रबाट बुझिएको छ । पक्राउ पर्नेमा समिति अध्यक्ष साविक गोनरपुरा–७ तथा हाल जलेश्वर–२ बस्दै आएका रविन्द्रनाथ मल्लिक तथा सदस्य जलेश्वर–११ का राधबेन्द्र पाण्डे रहेका छन् । बचतकर्ताबाट दैनिक रकम संकलन गर्ने २३ एजेन्टको नाममा पक्राउ पुर्जी जारी गरिएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरु विरुद्ध ठगी आरोपमा मुद्दा दर्ता गरिएको भने फरार रहेका अभियुक्तहरुको खोजी तीव्र पारिएको छ । फरार हुनेमा बचतकर्ताबाट पैसा संकलन गर्ने एजेन्ट, सञ्चालक समितिका अरू पदाधिकारी, तीन प्रबन्धक र क्यासियर लगायत रहेका बताइएको छ ।
पीडितमध्येका एक उपभोक्ताका अनुसार गत ०७१ माघ १० गतेपछि हालसम्म वार्षिक साधारणसभा नगरेपछि सहकारीमाथि शंका पैदा भएको थियो । त्यसपछि बचत फिर्ता माग्न जाँदा नदिने र अनेक वहानावाजी गरेर टार्ने काम सञ्चालकहरुले गर्दै आएका थिए । हुँदाहुँदा पछि त कार्यालय नै बन्द गरेर फरार भएपछि १ हजार ५ सय बचतकर्ताको ४ करोड ८३ लाखभन्दा बढी निक्षेप जोखिममा परेको बुझिएको छ । सो प्रकरणमा लिखित र मौखिक उजुरी दिनेको संख्या बढ्दै छ ।
५ मंसिर ०६६ सालमा जनकपुरस्थित डिभिजन सहकारी कार्यालयमा दर्ता भएको सहकारीले लगानीको दोब्बर दिनेजस्ता योजना अघिसारेको थियो । यसप्रति आकर्षित भएर सर्वसाधारणले दैनिक जम्मा गर्न थालेका थिए । सहकारीले एजेन्ट परिचालन गरेर दैनिक रकम संकलन गरेको थियो । यसमा बचतकर्ताले ५० देखि २ सय रुपैयाँसम्म दैनिक बचत गर्दै आएका थिए ।
‘