करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता

रिपोर्ट नेपाल | 2023 Mar 11 | 07:55 am 241

रौतहट, फागुन २७ः नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाअन्तर्गतका पाँचवटा नगरपालिकाको सडकबत्तीको महसुल बक्यौता रहेको हो ।

प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवका अनुसार चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाले सडकबत्ती बालेबापतको सो महसुल बक्यौता रहेको देखिएको हो । सबैभन्दा बढी चन्द्रपुर नगरपालिकाको १ करोड ९१ लख ५५ हजार ७६ रुपैयाँ बक्यौता देखिएको कार्यालय प्रमुख यादवले जानकारी दिए ।

यसैगरी, गुजरा नगरपालिकाको १ करोड ८७ लाख २३ हजार ६ सय ८६ रुपैयाँ, वृन्दावन नगरपालिकाको १ करोड ३० लाख २९ हजार ८ सय ३० रुपैयाँ, गरुडा नगरपालिकाको ७१ लख २२ हजार ३ सय ७१ रुपैयाँ र फतुवा विजयपुर नगरपालिकाको ८ लाख १५ हजार ९ सय ५८ रुपैयाँ गरी जम्मा ५ करोड ९६ लाख ४६ हजार ९ सय २२ रुपैयाँ सावा बाँकी रहेको प्रमुख यादवले जानकारी दिए । पाँच पालिकाको सो रकमको २५ प्रतिशत हर्जानासहित जम्मा ७ करोड ४५ लाख ५८ हजार ६ सय ५२ रुपैयाँ बक्यौता देखिएको वितरण प्रमुख यादवले बताए ।

सडकबत्तीको मात्रै सो रकम बक्यौतामा देखिएको उनको भनाइ छ । समयमै सो महसुल बुझाउन स्थानीय पालिकालाई आग्रह गरे पनि बुझाउन नआएको वितरण प्रमुख यादवले आग्रह जानकारी दिए ।

यता सडकबत्तीको महसुल बक्यौता तिर्न भन्दै नेपाल विद्युत् प्राधिकरणले देशभरका स्थानीय तहलाई सूचना जारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडकबत्तीको रहेको छ । स्थानीय निकायले विद्युत् प्राधिकरणको सहमति नलिई आफूखुसी सडकबत्ती जडान गर्नेक्रम बढ्दो रहेको र सडकबत्तीको विद्युत्शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाएको छ ।

दोस्रो स्थानीय निर्वाचन २०७९ पछि देशभरका नगरपालिका र गाउँपालिका निकायले नेपाल विद्युत् प्राधिकरणको ऐनविपरीत हुकिङ गरी सडकबत्ती जडान गर्ने होडबाजी बढ्दै गएको प्राधिकरणको दाबी छ । सो बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा साथै मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी बुझाउन बाँकीले प्राधिकरणले अत्यधिक मात्रामा नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएकाले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा कार्यालयमा प्राधिकरणले अत्यन्त जरुरी सूचना जारी गरेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.