करसम्बन्धी विधेयकमाथि छलफल शुरु

रिपोर्ट नेपाल | 2018 Jun 13 | 07:23 pm 2336

हेटौँडा, ३० जेठ : प्रदेश ३ को प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले कर तथा गैरराजश्व संकलनसम्बन्धी विधेयक २०७५ को प्रस्ताव टेबुल गरेका छन् ।

सो प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दीपककुमार शर्मा, लेखनाथ दाहाल, सिर्जना साय्मी, सीता अधिकारी, विजया केसी श्रेष्ठ, शान्तिप्रसाद पौडेल, रीता माझी, रीना गुरुङ, विराजभक्त श्रेष्ठ, रमेश पौडेल, निमा लामा, नरोत्तम वैद्य, शोभा शाक्य र प्रभात तामाङले जनसरोकारको विषय र गैरराजश्व संकलनमा आवश्यक ऐन कानूनको तर्जुमा गरी सर्वसाधारणको घरजग्गा रजिस्ट्रेसन पासतर्फ थप नवीकरण गरी राजश्व संकलनको दायरालाई फराकिलो पार्न सुझाव दिए ।

उनीहरुले पर्यटक भित्र्याउने सम्पदा, कृषि सडक, मनोरञ्जन कर, होर्डिङ बोर्ड विज्ञापनको करलगायत अन्य कर असुलीको अनुगमन गर्नुपर्ने सुझाव दिए । घरजग्गा रजिस्ट्रेसन पास गर्ने क्रममा सम्पन्न परिवारको जग्गाको मूल्य कम निर्धारण गरी राजश्व असुलीमा अनियमित हुने गरेकाले त्यस्ता गतिविधिलाई निगरानीमा राख्ने मालपोत र आन्तरिक राजश्व जस्ता कार्यालयलाई वैज्ञानिक पद्धतिबाट कर निर्धारण गर्न कानूनले अधिकार प्रत्यायोजित गर्नुपर्ने धारणा पनि व्यक्त भएको थियो ।

छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ढुंगेलले प्रदेशस्तरमा कृषि उत्पादन क्षेत्र, पर्यटक भित्रिने सम्पदा, मनोरञ्जन कर र विज्ञापन करलाई समायानुकूल सुधार गरी राजश्व वृद्धि गर्न प्रदेश सरकारले आवश्यक रणनीति तयार गरी लागू गर्ने दृढता व्यक्त गरे ।

उनले करको दायरालाई फराकिलो पार्न र राजश्व संकलनमा पारदर्शीताका साथ सर्वसाधारण उपभोक्ताको हितमा बजार भाउ नियन्त्रण गर्न सम्बन्धित निकायमार्फत अनुगमन गरी कारबाही गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

उनले सो विधेयकको दफावार छलफलका लागि विभिन्न समितिमा पठाइँदा त्यहाँबाट प्राप्त हुने सुझाव र कानूनी सल्लाहलाई उक्त ऐनमा समेट्ने विश्वास पनि व्यक्त गरे ।

बैठकमा विकास समितिका सभापति सयस नेपालले वित्तीय हस्तान्तरण विधेयक, २०७५ र प्रदेश आकस्मिक कोष स्थापनासम्बन्धी विधेयक, २०७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.