कम्युनिस्ट गठबन्धनमा बल थपिँदै, कांग्रेस खुम्चिँदै

रिपोर्ट नेपाल | 2022 Dec 29 | 08:00 am 1157

काठमाडौं, पुस १४ः पुरानो गठबन्धन दलका नेताहरू एकाएक नयाँ समीकरणको सरकारप्रति सकारात्मक देखिएसँगै नेपाली कांग्रेस एक्लो हुँदै गएको छ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेस आगामी संसदमा एक्लो प्रतिपक्षी दल बन्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी सहितको कम्युनिस्ट गठबन्धनमा बल थपिँदै गर्दा नेपाली कांग्रेससँग रहेका साना दलहरू गुमनाम भइसकेको पत्रकार एवं विश्लेषक चिरञ्जीवी अर्यालले बताए । उनले नेपाल समाचारपत्रसँग भने– ‘कम्युनिस्टहरू बिस्तारै फेरि एक ठाउँ आउँदै गर्दा कांग्रेसभित्र साविकको गठबन्धन तोडिएको विषयलाई लिएर आन्तरिक भाँडभैलो शुरू भएको छ । यसले उक्त दललाई घाटा गर्दछ ।’

नेपालको राजनीतिमा विगत पाँच वर्षयता गठबन्धन संस्कृति मौलाउँदै गएकाले दलहरूबीच वैचारिक दृष्टिकोणमा तात्विक फरक नदेखिएको उनको भनाइ छ । चुनावअघि हुने दलहरूबीचको गठबन्धनले बहुदलीय लोकतन्त्रमा कसको शक्ति कति छ भन्ने यकिन गर्न नसकिने टिप्पणी गर्दै अर्यालले भने– ‘चुनावअघि गरिने गठबन्धनको अभ्यासले राजनीतिमा सकारात्मक सन्देश दिएन । अहिले कांग्रेसभित्र देखिएको समस्याको जड पनि त्यही नै हो ।’

कुनै राजनीतिक दलहरूलाई सरकार बनाउन जनताले बहुमत दिन छाडेपछि दलहरूबीच गठबन्धनको संस्कृति शुरू भएको हो । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनदेखि दलहरूबीच चुनावी गठबन्धन गर्ने अभ्यासले प्राथमिकता पाउँदै आएको छ । तर, ती गठबन्धनहरू चुनावपछिको शक्ति बाँडफाँटमा आइपुग्दासम्म तोडिँदै आएका छन् ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले नयाँ र पुराना दुवै गठबन्धनलाई जोड्न पहल थालेका छन् । नयाँ पुराना गठबन्धन जोड्न प्रयास पहिलो चरणमा सफल भए पनि कालान्तरमा पुनः विग्रह आउनसक्ने खतरा पनि उत्तिकै छ । सरकारलाई बलियो बनाउन तत्कालीन नेकपामा सहभागी भएका नेकपा एकीकृत समाजवादी, वामदेव गौतम समूह, प्रभु साह समूहलाई जोड्ने प्रयास गरिएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.