कम्युनिष्ट पार्टीहरु एक हुनुको रहश्य यसरी खोले प्रचण्डले

| 2018 Jun 10 | 02:09 pm 1656

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताएका छन् । उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज विराटनगरमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

विस्तृत शान्ति सम्झौता र नयाँ राजनीतिक प्रक्रिया शुरु भइसकेपछि सबैभन्दा बढी उद्योग संगठनका पदाधिकारीहरुसँग छलफल गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यबिना मुलुकमा आर्थिक विकास गर्न सम्भव नभएको बताए । राजनीतिक स्थिरता कायम गर्न आफूले साहसिक निर्णय गरेको र यसैको उपजबाट दुवै कम्युनिष्ट पार्टी एक भएको भन्दै उनले राज्यमा ठूला–ठूला परिवर्तन राजनीतिक पार्टीहरुको एकता र सहकार्यबाट नै सम्भव भएकोमा जोड दिए ।

राजनीतिक चेतना र आर्थिक विकासको क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरेको विराटनगरवासीले अब आर्थिक विकासको संकल्प लिनुपर्ने समय आएको बताउँदै उनले चीनसँगको आर्थिक र व्यापारिक साझेदारी कायम गर्न किमाथाङको बाटो बन्नुपर्ने तर्क गरे ।

सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति, युवालाई रोजगार, बन्द उद्योग सञ्चालन र नयाँ उद्योग स्थापना गर्न कोशेढुंगा बन्ने भन्दै नयाँ बजेटले आर्थिक स्थिति सुदृढ गर्ने र व्यापार घाटा कम गर्ने सिद्धान्तबाट प्रेरित भएर आएको जानकारी पनि प्रचण्डले दिए ।

फोटो रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.