कपिलवस्तुमा ७ महिने गर्भवती महिला बलात्‍कृत

रिपोर्ट नेपाल | 2018 Sep 03 | 06:26 am 1829

कपिलवस्तु, भदौ १८: विजयनगर गाउँपालिका-७ परसोहियामा ७ महिनाकी गर्भवती महिलाको बलात्कार भएको छ। घटनामा संलग्‍न भएको अभियोगमा तीन जना पक्राउ परेका छन्।

विजयनगर गाउँपालिका ७, परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिलाको बलात्कार भएको हो।

यही १२ भदौ राति आफू घर नभएको समयमा स्थानीय तीन जनाको समूहले बलात्कार गरेको भन्दै पीडितका श्रीमानले बुधबार प्रहरीमा किटानी जाहेरी दिएका थिए । ४० वर्षीय प्रल्हाद केवट र ४२ वर्षकी वर्षाती केवटको सहयोगमा २८ वर्षीय बकन्चु केवटले बलात्कार गरेको जाहेरीमा उल्लेख थियो।

इलाका प्रहरी कार्यलय गणेशपुरमा प्रहरी निरिक्षक नविन पौडेलको टोलीले वर्षाती केवटलाई बुधबार नै पक्राउ गरेको थियो।

प्रह्लाद भोलिपल्ट पक्राउ परे। मुख्य आरोपी बकन्चु केवट भने फरार भएका थिए । उनलाई आइतबार मात्र कपिलवस्तु कृष्णनगर नगरपालिका २ यात्रुगेटमा लुकेर बसको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडित महिलाको बहादुरगञ्जस्थित शवराज अस्पतालमा उपचार गरिएको र उनको अवस्था सामान्य छ।

अभियुक्तहरूलार्इ ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.