निर्मला हत्यामा निर्दोष फस्दैनन्, दोषी जतिसुकै ठूलो भएपनि छुट्दैन

| 2018 Dec 30 | 04:04 pm 1827

 कञ्चनपुर, पुस १५ : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला हत्या प्रकरणको अनुसन्धानमा कसैको दबाब र प्रभाव नभएको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीको अनुगमनका क्रममा कञ्चनपुर पुगेका आईजीपी खनालले भने, ‘‘अनुसन्धान पूर्ण व्यावसायिक रुपमा भइरहेको छ, कसैको दबाब र प्रभाव परेको छैन ।’’

निर्मला हत्याको अनुसन्धानमा प्रहरी सक्रिय भएको बताउँदै खनालले महिला हिंसा र बाल हिंसाविरुद्ध समुदायसँगै मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । महिला अधिकारकर्मीहरुसँग जिल्ला प्रहरी कार्यालयमै भएको छलफलमा आईजीपी खनालले भने, ‘‘निर्दोष फस्दैनन्, दोषी जोकोही जतिसुकै ठूलो वा सानो भएपनि छुट्दैन । कानुनको नजरमा सबै समान हुन् ।’’ प्रहरी अनुसन्धान परिणाम निकाल्नेतर्फ उन्मुख भएको आईजीपी खनालको भनाइ छ ।

आईतबार बिहान खनाल अपराध अनुसन्धानमा काविल मानिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर सहितको टिम लिएर कञ्चनपुर पुगेका थिए।

खनालले केही दिनअघि प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जत्तिसुकै शक्तिशाली भएपनि निर्मलाको हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा निर्मलाको हत्यारा पक्राउ नपर्दा आफुलाई निन्द्रा समेत नपर्ने गरेको बताएका खनालले निर्मला हत्या अनुसन्धान रिपोर्ट आफैंले प्रत्यक्ष लिँदै आएका छन् ।

महानगरीय अपराध महाशाखामा कार्यरत डिएसपी कुँवरसहित अपराध अनुसन्धानमा काविल मानिने प्रहरी नायव निरीक्षक (सई) गजेन्द्र रावललाई पनि आईजीपी खनालले निर्मला हत्याको अनुसन्धानमा समावेश गरेका छन् ।

आईतबार बिहान कैलालीस्थित नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण गरेका खनालले त्यहाँ कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका थिए । मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ब्रिफिङ गरेका खनालले त्यहँका स्थानीय महिला, समाजसेवी तथा अधिकारकर्मीसँग अन्तरक्रिया गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.