कक्षा १२ को परीक्षा: फरक जिल्लाका उत्तरपुस्तिका परीक्षणको जिम्मा बोर्डलाई

| 2020 Nov 11 | 08:05 am 2191

काठमाडौं, कात्तिक २६ः फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने परीक्षार्थीको उत्तरपुस्तिका बोर्ड आफैले परीक्षण गर्ने भएको छ । ती विद्यार्थीको उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश परीक्षा कार्यालयले गर्नेछ । प्रदेश कार्यालयले परीक्षण गरी प्राप्ताङ्कसहितको उत्तरपुस्तिका बोर्ड कार्यालयमा पठाउने जनाएको थियो । तर शिक्षक अभाव हुन सक्ने आकलन गर्दै बोर्डले सबै उत्तरपुस्तिका केन्द्रीय कार्यालयमा परीक्षण गर्ने जनाएको थियो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले सबै प्रदेश कार्यालयलाई उत्तरपुस्तिका केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको जानकारी दिए । उनले भने–प्रदेश कार्यालयमा शिक्षक अभाव हुन सक्ने र परीक्षण गर्न समय लाग्ने भएपछि बोर्डमा पठाउन निर्देशन दिएका हौं । आफ्नै विद्यालयमा परीक्षा दिएका विद्यार्थीको हकमा विद्यालयका विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी प्राप्ताङ्क दिन सक्ने व्यवस्था गरेको छ । विद्यालयले बोर्डलाई आवश्यकताका आधारमा उत्तरपुस्तिका बुझाउनुपर्नेछ ।

कोरोना संक्रमणको कारण उत्तरपुस्तिका परीक्षण गर्दा मास्क र पञ्जा अनिवार्यरुपमा लगाउनुपर्नेछ । केही विद्यालयले उत्तरपुस्तिकालाई सेनिटाइज गरी करिब तीन दिनपछि मात्र परीक्षण गर्न विषय शिक्षकलाई निर्देशन दिएको छ । बोर्डले कोभिडका कारण विद्यालयको सिफारिस र प्रवेशपत्रको आधारमा घरपायक वा आफू बस्ने जुनसुकै विद्यालयबाट परीक्षा दिने व्यवस्था गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा पौडेलले चाँडो परीक्षाफल प्रकाशित गर्न सबै उत्तरपुस्तिका बोर्डमा परीक्षण गर्न लागेको जानकारी दिनुभयो । यो वर्ष ४ हजार १ सय ५ विद्यालयलाई केन्द्र कायम गरिएको छ । बोर्डसँग कति विद्यार्थीले फरक केन्द्रबाट परीक्षा दिन्छन् भन्ने विषयमा तथ्याङ्क छैन । परीक्षा सञ्चालन हुनु केही दिनअघि यसबारेमा जानकारी हुने बोर्डको भनाइ छ ।

बोर्डको प्रदेश १ को विराटनगर, २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी प्रदेश कार्यालयबाट परीक्षा सञ्चालन र व्यवस्थापन हुनेछ ।

त्यस्तै हेटौंडा, लाहान, उदयपुर, दाङ, कोहलपुर र डडेल्धुरा शाखा कार्यालयले परीक्षा सञ्चालन र व्यवस्थापन गर्नेछन् । परीक्षालाई पूर्णरुपमा सुरक्षित र व्यवस्थितरुपमा सञ्चालन गर्न बोर्ड केन्द्रीय कार्यालयमा कन्ट्रोल रुम हुनेछ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.