काठमाडौं, चैत २५ः कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा पनि स्थगित गरेको छ ।
२०७७ बैशाख ८ गतेबाट कक्षा १२ को र बैशाख २१ गतेबाट ११ को परीक्षा संचालन गर्ने कार्यतालिका सार्वजनिक गरिएकाे थियो ।
कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएकाे छ । परीक्षाको नयाँ तालिका काेराेना संक्रमणकाे अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा जनाइएकाे छ ।
बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ ।
कोरोनाकै जोखिमका कारण यस अघि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)पनि स्थगित गरेको थियो ।
