कंगोमा इबोलाको महामारी फैलिने त्रास

रिपोर्ट नेपाल | 2018 Aug 11 | 09:26 am 2341

लोकतान्त्रीक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण मृत्यु हुने क्रम बढेपछि विश्व स्वास्थ्य संगठनले चिन्ता प्रकट गरेको छ । खतर्नाक इबोलाका कारण पछिल्लो तीन दिनमा थप दश जनाको मृत्यु भएपछि यस रोगले निम्त्याउन सक्ने महामारीप्रति चिन्ता प्रकट गरिएको हो ।

सम्बद्ध स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशङ्का गरिएको छ ।

दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ विरामी फेला परेको र अन्यस्थानमा पनि इबोलाको शंकास्पद विरामीहरु भेटिएको पुष्टी भएको कंगोको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दशौँ लाख मानिस बस्ने गोमा सहरमा पनि दुई शंकास्पद विरामी भेटिएको अधिकारीहरूले जनाएका छन् ।

सन् १९७६ देखि कङ्गोमा इबोलाको प्रकोप अहिले दशौँ पटक देखिएको हो । पहिलो पटक कङ्गो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टी भएको थियो । अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ । जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ ।

कङ्गोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौँको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.