रुपन्देही, असार ८ः औषधिमा नयाँ मूल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन गाउँपालिका वडा नं. २ बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं. ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका वडा नं. ११ वैतडीका २६ वर्षीय हरिष भण्डारी रहेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामाग्रीको गोदाम गरेर नयाँ मूल्य राखी विक्री वितरण गरेको आरोपमा उनीहरू पक्राउ परेकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।
अवैध रुपमा विभिन्न प्रकारका औषधि तथा पोषणयुक्त सामाग्रीलाई गादाम गरी नयाँ मूल्य राख्ने तथा म्याद सकिएको औषधिमा नयाँ मिति राखेर विक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो ।
त्यसका आधारमा घरकोठामा खानतलासी गर्दा तोकिएको मूल्य भन्दा फरक मूल्य कायम गरी लेबल प्रिन्ट गर्दै गरेको अवस्थामा उनीहरुलाई गत सोमबार राति पक्राउ गरिएको प्रनाउ केसीले बताए ।
प्रहरीले उनीहरुको साथबाट दुई सय कार्टुन विभिन्न प्रकारका औषधधि तथा पोषणयुक्त सामाग्रीहरु र एक थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रनाउ केसीले जानकारी दिए ।