औद्योगिक विकासका लागि नीतिगत सुधार आवश्यक

रिपोर्ट नेपाल | 2022 Nov 26 | 07:51 am 1225

काठमाडौँ, मङ्सिर १०ः औद्योगिक विकासका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको निजी क्षेत्रका व्यवसायीले बताएका छन्।

आठौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको बताएका हुन्। औद्योगिक लगानी र पूर्वाधार : समृद्धिको बलियो आधार भन्ने नाराका साथ आठौँ उद्योग दिवस मनाइएको हो।

कार्यक्रम नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले औद्योगिक विकासका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको बताए। उद्योगको उत्पादन लागत घटाउन र निर्यातमा प्रोत्साहन गर्न सरकारी नीति आउनुपर्ने बताउँदै उनले बैङ्कको चर्काे ब्याजदर र तरलता अभावका कारणले व्यवसायीलाई उद्योग सञ्चालन गर्न कठिन भएको बताए। सो अवसरमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ उद्योग खोल्न र सञ्चालनमा रहेका उद्योग संरक्षण गर्न सरकारले नीतिगत सुधार गर्नुपर्ने बताए। अहिले अर्थतन्त्रमा समस्या देखिएकाले उद्योग झनै धराशायी भएको बताए ।

“औद्योगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्छ। यसका लागि स्टार्टअप नीति, निर्यात अनुदान र उद्योगको उत्पादन लागत घटाउनु जरुरी छ,” अध्यक्ष अग्रवालले भने। परिसङ्घले स्वदेशी वस्तु उत्पादन र निर्यातमा काम गरिरहेको भन्दै उनले सरकारले त्यसलाई सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए। उद्योग खोल्न जग्गा पाउनै कठिन भएको र पाइएको जग्गा पनि निकै महँगो हुँदा उद्योग स्थापना महँगो भएको उनको भनाइ छ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले उद्योग प्रशासन एवं व्यवस्थापनमा सहजता ल्याउन नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत र प्रविधिगत क्षेत्रको सुधारलाई निरन्तरता दिइएको उनले जानकारी दिए। नयाँ उद्योगको स्थापना, विस्तार, स्वदेशी उद्यमको संरक्षण, संवद्र्धन, विकास स्वदेशी तथा विदेशी लगानी विस्तार गरी उद्योगमैत्री वातावरणले अर्थतन्त्रको विकास गर्न सकिने उनले बताए। गाेरखापत्र दैनिकबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.