ओली सरकारबाट जनताले मुक्ति चाहेका छन् : सभापति देउवा

| 2019 Apr 19 | 02:55 pm 1893

काठमाडौं, वैशाख  ६ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताएका छन् । नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै देउवाले जनताको करबाट रमाइरहेको ओली सरकारबाट जनता प्रताडित भएकाले मुक्ति चाहेको बताएका हुन् ।

वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाउँदै देउवाले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन दिए ।

उनले मनपरी ढङ्गबाट सञ्चालित सरकारलाई नेपाली कांग्रेसले लगाम लगाउने उद्घोष पनि गरे । कानुनविपरित मनपरी चल्ने छुट सरकारलाई नभएको भन्दै उनले जनताको कर खाएर जनताको काम नगर्ने सरकारविरुद्ध कांग्रेसले जागरण अभियान सञ्चालन गरेको जानकारी गराए ।

उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप समेत लगाएका छन्। यस्तै सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन दिएका छन्। उनले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने÷नगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिने पनि स्पष्ट समेत पारे।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.