काठमाडौं, वैशाख १५ः विगत केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूखुसी निर्णय गरेकाे भन्दै पार्टीभित्र आन्तरिक द्धन्द्ध चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच साेमबार एक्ला एक्लै भेटवार्ता भएको कुराले राजनीतिक बजारमा अनेक चर्चा परिचर्चा भएकाे छ ।
दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको बताइए पनि प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपालसँग अहिलेकाे स्थितिमा मिलेर जान आग्रह गरेकाे समाचार स्राेतले रिपाेर्ट नेपाललाइ बताएकाे छ ।
समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेता नेपाललाइ भेटका क्रममा पटक पटक मिलेर जान आग्रह गरेकाे बुझिएकाे छ । प्रम ओलीले आफूले चालेका कदमहरुको उद्देश्यबारे समेत नेता नेपाललाई स्पष्ट पार्न खोजे पनि तर, नेपालले पार्टी निर्णयलाई बेवास्ता गर्दै कदमहरु चाल्दा साख गिरेको भन्दै सचेत गराएको बुझिएको छ ।
दुवै नेताबीच भविष्यमा राजनीतिक लेनदेनको विषयमा समेत छलफल भएको स्रोतले बतायो । तर, त्यो लेनदेन के हो स्पष्ट खुलेको छैन ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको कुरा संचारमाध्यममा आए लगत्तै प्रम ओलीले नेता नेपाललाइ बालुवाटारमा बाेलाएर छलफल गरेका थिए ।