चितवन, मंसिर १०: नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्।
त्यही भएर हुन सक्छ, ओलीले महाधिवेशनको दुई दिनअघि एउटा सन्देश दिए– ‘सहमतिका लागि म कसैलाई पनि आग्रह गर्दिनँ।’ ओलीको यो भनाइले पार्टीमा तरंग पैदा भयो। नेताहरूले भन्दै आएको ‘सहमति’को महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव होला त ? भन्ने प्रश्न यसले उब्जाएको छ।
पार्टी नेताहरू ओलीकै पक्षमा खुलिरहेका छन्। ‘यो अवस्थामा अध्यक्षमा केपी ओलीको विकल्प हुने कुरै भएन। अहिलेको परिस्थितिमा ओली एमालेका लागि मात्रै होइन, देश र जनताका लागि आवश्यक हो’, एमाले नेता सुवास नेम्वाङ भन्छन्, ‘सर्वसम्मत हुनु पर्यो भन्ने नै हो। तर, भएन भने त चुनावमा जानै पर्यो नि !’
नेता नेम्वाङले चुनौतीको अवस्थामा सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टीमा एकताको सन्देश जाने बताए। अन्तिमसम्म सहमतिकै प्रयास हुने, नत्र ‘लोकतान्त्रिक विधिमा जान सकिने’, प्रतिक्रिया दिए।
पार्टी सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले पनि नेतृत्वमा ओलीको विकल्प नभएको बताए। ‘उद्घाटनमा व्यस्त छौं। नेतृत्वको विषयमा छलफल गर्न सकेका छैनौं। तर एमालेमा केपी ओलीको विकल्प छैन, उहाँलाई सर्वसम्मत नेतृत्व लानुपर्छ’, उनले भने, ‘उहाँको विषयमा विवाद छैन। सर्वसम्मत नेतृत्व चयन गर्ने भन्ने हो। यसमा लागिरहेका छौं।’ उपाध्यक्ष युवराज ज्ञवाली सहमतिबाटै नेतृत्व चयन हुनुपर्ने बताउंछन। ‘पार्टीको नेतृत्व ओलीले नै गर्ने हो,’ ज्ञवालीले भने,‘ मापदण्ड बनाएर सहमतिमा नेतृत्व चयन गर्न सकिन्छ। तर सहमतिका नाममा कसैलाई काखा र कसैलाई पाखा गर्नु हुंदैन।
हुन पनि १०औं राष्ट्रिय महाधिवेशनमा ओली यति शक्तिशाली भएका छन् कि, अध्यक्षमा भिड्न आउने जो कोही उनीसामु फिक्का जस्तै छन्। अध्यक्षमा ओली ‘निर्विकल्प’ छन्। विगतमा ‘टक्कर’ दिने माधव नेपाल र झलनाथ खनालले पार्टी छोडेका छन्। महाधिवेशन प्रतिनिधिमा ओलीको एकलौटी छ। उनको इच्छा र चाहनाअनुसार महाधिवेशन अघि बढ्ने स्थिति छ। ओलीसँग महाधिवेशनमा फरक मत वा विरोध गर्नेको संख्या नगन्य जस्तै देखिन्छ। त्यसैले, नेतृत्व चयनको १०औं महाधिवेशन ओलीमय बन्दैछ।
सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता भंग गरिदिएपछि एमालेमा ओलीको शक्ति पुनोर्दय भएको हो। त्यसअघि माओवादी समेतको नेकपामा ओली अल्पमतमा परिसकेका थिए। संसद विघटन र मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्चले उल्ट्याइदिएको थियो। ओली ‘राजनीतिक रूपमा पनि संकट’ मा थिए।
तर, पार्टी एकता भंगपछि एमालेमा ओलीको बहुमत पुग्दै गयो। असन्तुष्ट माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले पार्टी छोडे। त्यति हुँदा पनि ओलीले नेपाल र खनालसँग नजिक रहेका दोस्रो पुस्ताका १० नेतालाई एमालेमै राख्न सफल भए। माओवादी अध्यक्ष दाहाल निकट रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझीलगायत नेताहरूले ओलीको नेतृत्वलाई खुलेरै समर्थन जनाए, एमालेमै बसे। पार्टीको नीति र विधि पनि ओलीको चाहनाअनुसार मात्र अघि बढ्ने स्थिति सिर्जना गरे। अन्नपूर्ण पाेस्ट दैनिकबाट