ओलीले संविधानलाई जुत्ताको तलुवा बनाएः विरही
काठमाडौं, असार ७ः हाल अमेरिका भ्रमणमा रहेका बरिष्ठ पत्रकार हरिहर विरहीले भन्नु भएको छ – अरु लोकतान्त्रिक देशमा प्रधानमन्त्री र राष्ट्रपतिले यस्तो काम गरेको भए अन्य दलहरुले महाअभियोग लगाएर हटाइसक्थे ।
जनताले सत्ता छोड्न बाध्य पारिसक्थे । अहिले यिनीहरुले गर्दा सिंगो मुलुक नै राजनैतिक दृष्टिकोणले कैदमा परेको छ । यी नेतृत्व जति समय सत्तामा रहन्छन् देशको संकट झन बढ्दै जानेछ ।
अमेरिका स्थित नेपालीहरुको समुहबाट संचालित अनलाइन ग्लोबल टक को एक कार्यक्रममा नेपालको समसामयिक अवस्थाबारे विचार व्यक्त गर्दै उहाँले व्यक्तिको गल्ती र बदमासीको दोष व्यवस्थालाई दिनु नहुने तर्क गर्दै संविधानको कार्यान्वयन र पालना नेतृत्वले नगरेकै कारणले भ्रष्टाचार लगायत विभिन्न विकृति र अपराधिकरण भएको टिप्पणी गर्नु भयो ।
उहाँले अगाडी भन्नुभयो – नयाँ संविधान बनेपछि त्यसलाई कार्यान्वयन गर्दै राजनैतिक, सामाजिक र आर्थिक क्षेत्रमा अग्रगामी परिवर्तनको दिशामा कदम चाल्न सट्टा प्रमं र राष्ट्रपति मिलेर देशलाई जबरजस्ती प्रतिगामी दिशामा घिसार्दै लगेका छन् ।
सो अनलाइनका पत्रकार भोला आचार्यले गरेको प्रश्नको जवाफ दिँदै विरहीले वर्तमान संकट निकास राजतन्त्रको पुनर्स्थापना वा कम्युनिष्ट शासन नभएको राय व्यक्त गर्दै उहाँले भन्नु भयो – कम्युनिष्ट शासन अब संसारमा नै कहिल्यै कतै आउँदैन । राजतन्त्र जति टिक्नु थियो – टिक्यो । अब यो फर्कन सक्दैन । राजतन्त्र लोकतन्त्रका लागि सधै खतरा बनेता पनि आफू एक्लैले यसलाई हटाउन नसक्ने भएकाले नेपाली कांग्रेसले अरु दलहरुको सहयोग लिएर गणतन्त्र स्थापनामा निर्णायक भूमिका निभाउनुका साथै कम्युनिष्टहरुलाई लोकतान्त्रिक धार र अभ्यासमा ल्यायो । लोकतान्त्रिक गणतन्त्रका मान्यताहरुको इमान्दारिता पूर्वक कार्यान्वयन र नागरिक जागरण नै आजको समस्याको तत्कालिक निदान हो । जनता नजागेसम्म नेता र दलहरु स्वेच्छाचारी भइरहन्छन् । त्यसलै जनताले हस्तक्षेपकारी भूमिका निभाउनु पर्दछ ।
प्रधानमन्त्री ओलीको द्वैध चरित्र भएको चर्चा गर्दै उहाँले हिम्मत भए संविधान र लोकतन्त्रलाई खारेज गरेर देखाउन भनी चुनौती समेत दिनुभयो । उहाँले आफूलाई लोकतन्त्रवादी भन्न नछोड्नु । तर, अदालत, संसद, संविधान, नैतिकता र लोकतान्त्रिक मान्यता लत्याउदै जबरजस्ती सत्तामा बसिरहनु कायरता हो भन्नुभयो ।
उहाँले ओलीले संविधानलाई जुत्ताको तलुवा बनाएको धारणा पनि राख्नुभयो ।