काठमाडौं, जेठ २४: प्रधानमन्त्री केपि शर्मा ओलीको आगामी असार १० गतेका लागि चिन भ्रमण भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि चिनियाँ राष्ट्रपति सि चिन पिङ भेट्ने कार्यक्रम तय गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जानुहुने कार्यक्रम तय भएको छ । मोदी नेपाल आउनुभन्दा अघि मात्रै चीन पुगेका थिए । फेरी नेपालका प्रधानमन्त्री ओलीभन्दा पहिले चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन पिङलाई भेट्ने भएका छन् ।
भारतीय प्रम मोदीले यसअघि प्रम ओलीको चीन भ्रमणलार्इ रोक्न आफैं नेपाल आएका थिए । मोदीले पहिलो प्रधानमन्त्री ओलीको पदभार ग्रहणपछिको पहिलो भ्रमण पनि भारत नै गराएका थिए । यसअघि चिनियाँ राष्ट्रपति सि नेपाल भ्रमणमा आउने तयारी भएपनि भारतीय प्रम मोदीको भ्रमण तथा अन्य सुरक्षा कारण देखाउदै रद्द गरिएको थियो । पछिल्लो समय नेपालमा भारतीय सक्रियता तथा अन्य एनजिओ-आएनजिओ सक्रिय भएपछि चिनियाँ चासो पनि बढेको हो ।
यसअघिको मोदीको चीन भ्रमणका क्रममा सिमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो । चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघाइ कोअप्रेसन अर्गनाईजेसनको अवसर पारेर मोदी चीन भ्रमणमा जान लागेका हुन् । यही अवसरमा प्रधानमन्त्री ओली पनि सहभागी हुने इच्छा प्रकट गरेका थिए । तर, समय अभावभन्दै चीनले इन्कार गरेको स्रोतले जनाएको छ ।
आगामी मोदी-सि भेटमा दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्नुहुने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ । व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् ।