ओलीको ‘सिलिण्डर ग्यासको युग अन्त्य’ गरेको गोबरग्यास प्लान्ट १२ दिनमै बन्द

| 2018 Sep 11 | 10:16 am 2090

काठमाडौं, भदौ २६: ‘सिलिन्डर युग अन्त्य’ भएको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ५ भदौमा उद्‍घाटन गरेको गोबरग्यास प्लान्ट सञ्चालनमा आएको दुई सातामै बन्‍द भएको छ।

विराटनगर महानगरपालिका १४ जतुवास्थित श्रीकृष्ण गौ सेवा सदनमा रहेको गोबर ग्याँस प्लान्ट ओली सरकारकै सर्वोत्कृष्ट कार्य भनेर प्रचार गरिएको र निकै महत्वका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको गोबरग्याँस पलान्ट अघिल्लो आइतबार (१७ भदौ) मा परेको पानीले क्षती पुर्‍याएपछि बन्द भएको हो।

ऊर्जामन्त्री वर्षमान पुन, कानुन न्याय तथा संसदीय व्यवस्थ मन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको समेत उद्घाटन कार्यक्रममा उपस्थिति थियो।

विराटनगर महानगरपालिका–१४ जतुवास्थित श्रीकृष्ण गौसेवा केन्द्रमा २ सय ६४ घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो। प्लान्टको ‘मेम्ब्रेन’ मा समस्या आएपछि उत्पादन रोकिएको जनाइएको छ। ‘कमजोर खालको ‘मेम्ब्रन’ मा परेको पानीको प्रेसर थेग्न नसकेपछि भत्कियो,’ स्रोतले भन्यो, ‘अहिले भारतीय प्राविधिक ल्याएर मर्मत गर्ने काम गरिँदैछ।’

सो प्लान्टबाट उत्पादित ग्यास ३२ घरमा पाइपका माध्यमबाट बितरण गरिदै आएको थियो। गौसेवा र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले संयुक्त रुपमा गोरबग्यास प्लान्टको निर्माण गरेका थिए।

गौसेवा तथा केन्द्रका दुवैका अधिकारीहरुले ग्यास उत्पादन बन्द रहेको स्वीकार गरेपनि कारण चाहिँ फरक-फरक दिएका छन्।

गौसेवासँग सम्बद्ध शंकर अग्रवालले वरिपरिका थप घरमा समेत ग्यास विस्तार गर्ने क्रममा रहेकाले ग्यास उत्पादन बन्द गरिएको थियो। ‘कुनै समस्या आएर बन्द गरिएको होइन, थप विस्तार गर्न उत्पादन बन्द गरेका हौँ’ अग्रवालले भने, ‘३-३ महिनामा हुने मर्मतका लागि बन्द गरिएको हो।’

१ करोड ५० लाख रुपैयाँमा सो प्लान्टका निर्माण गरिएको थियो, जसमा वैकल्पिक ऊर्जा केन्द्रको ८० र गौसेवाको २० प्रतिशत लगानी रहेको छ। केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले नियमित मर्मत संभारका लागि अहिले बन्द गरिएको दावी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.