ओलीको शासन र जनताको बिलौना

रिपोर्ट नेपाल | 2019 Jun 16 | 03:49 pm 3650

कृष्ण प्रसाद सापकोटा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज असार १ गते आइतबार मुलुकको प्रधानमन्त्री बनेको चार सय सतासी दिन पुगेको छ । तत्कालिन नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर ठूलोदल बन्न सफल भएको तत्कालिन नेकपा एमाले हाल यि दुई दल मिलेर एउटै पार्टी बनाइएको छ ।

२०६२/६३ को आन्दोलनबाट संसदीय राजनीतिमा आएका प्रचण्ड पनि अहिले त्यो पार्टीको दोस्रो वरियताक्रममा अध्यक्षका रुपमा सकृय छन् । अन्य दलको समेत सहयोग लिएर प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको नेतृत्व गरिरहेका छन् । सुरुको साढे दुई वर्ष केपी ओली र त्यसपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति बमोजिम यो सरकार गठन भएको हो ।

विगत लामो समय देखि स्थिर सरकार नभएका कारण देश अस्थिरतातिर गइरहेका बेला दुई तिहाइको सरकार गठन हुँदा देशको भलो चाहने खुशी भएका थिए र अव मुलुकमा केही होला भनेर आशा गरिएको थियो । केपी ओलीको यो चार सय सतासी दिनको कृयाकलापलाई हेर्दा संघीय गणतन्त्रात्मक प्राणी व्यवस्था संकटमा पर्ने सम्भावना देखिएका छन् ।

नारायणहिटीमा रहेका एउटा राजालाई फालेर त्यसपछिका दिनमा जन्मीएका दर्जनौ राजामहाराजाबाट नेपाली युवा पुस्ता निरास भएको छ । सरकारको वरिपरी घुमेर उसको भजन मण्डली र धुपौरे बाहेक प्राय सबै युवा निरास र आक्रोशित बनेका छन् । यसरी निरास बन्नेमा स्वयम् केपी ओलीकै पार्टीका कार्यकर्ता पनि कमि छैनन् । सत्तामा जानुको अर्थ मुलुकलाई सही ढंगले अगाडी बढाउनु हो । अहिले सरकार जिम्मेवारी निभाउने कुरालाई भुलेर एकपछि अर्को विवादित कार्य गरेर जनतालाई एक आपसमा भिडाएर तमासा हेरिरहेको छ । झट्ट हेर्दा यतिखेर गरीब जनता र सर्वसाधारण जनता महंगीको चपेटामा परेर पिल्सीएका छन् ।

राष्ट्रपति, उपराष्ट्रपति र सरकार मोजमस्तीमा तल्लीन छन् । सरकारको कर्तव्य जिम्मेवारी वहन गर्नु नभएर आफ्ना सन्तती र महा सन्ततीलाई सम्पत्ती थुपार्ने र मोज मस्ती गर्ने हो भन्ने सन्देश सरकारको हरेक कृयाकलापले प्रवाह गरिरहेको छ । राष्ट्रपति, उपराष्ट्रिपतिका विलासी कुरा प्रधानमन्त्रीको पीउने पानीको मुल्यका विषयमा सानजिक संजालमा उठेका कुराले आफ्नो जवानी अर्काको देशमा गएर बिक्री गरेका युवाको मन कति पोल्दो हो भन्ने विषयमा कुनै हेक्का राखिएको छैन ।

सिटामोल खान नपाएर तड्पीदै ज्यान गुमाउने नेपालीले सरकारमा हालीमुहाली गर्दै गरिरहेको मनोरञ्जनका दृष्य देख्दा कति पीडा हुँदो हो । केपी ओलीले सरकारको नेतृत्व सम्हालेदेखिका दिनलाई सरसर्ती हेर्दा मुलुक कतै विभाजन हुने त होइन भन्ने आशंकाका बादलहरु पनि मडारिन थालेका छन् । सादगीपूर्ण जिवन यापन गर्ने नेता कार्यकर्ताहरु अहिले अपमानीत र भूमिका विहिन अवस्थामा पुगेका छन् । मितव्ययी व्यवहार गर्नुपर्छ भन्नेहरुलाई हेपाहा दृष्टिले हेर्न थालिएको छ ।

दशवर्षे युद्धबाट आतंकित र आजित भएका नेपाली जनताले प्रचण्ड र केपी ओलीको मिलनले शान्तिको स्वास फेरेका थिए । मुलुकमा शान्ति छाए रगत पसिना गरेर सिस्नु खाएर भए पनि भए पनि खुशीसाथ बस्न चाहाने जनताको आशालाई निराशा तुल्याइदिएको छ ।

नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपालाई प्रतिशोधपूर्ण तरिकाले निषेध गरेर यो सरकारले अर्को अशान्तिको बीउ रोपेर मलजल गरिरहेको छ । जनता पछिल्लो समयमा झनझन असुरक्षित निरिह र त्रासित बनेका छन् । समृद्ध नेपाल–सुखी नेपालीको नाराले मात्र जनता खुशी र मुलुक समृद्धीको दिशामा अघि बढ्न सकिन्न । त्यसका लागि व्यवहारमा लागु गर्नुपर्छ । राजा ज्ञानेन्द्रले जनचाहाना पूरा गर्न नसकेको आरोपमा फालिएको थियो ।

त्यो बेला ज्ञानेन्द्रले संयमता नअपनाएर आग्रह पूर्वाग्रह र आवेगमा आएको भए काठमाडौं उपत्यका लगायत देशभर रगतको खोलो बहन सक्थ्यो । तर ज्ञानेन्द्रले जनताले रुचाएनन् भने बाहिर बसेर हेर्ने भन्दै सहज दरबार छोडेको कुरालाई सरकारले स्मरण गर्न जरुरी छ ।

ओली सरकारको रबैया र गतिविधिले गर्दा कैयौं हिजोका दिनमा लोकतन्त्र प्राप्ती गर्नका लागि ज्यानको बाजी लगाएका योद्धाहरुले यो व्यावस्थापनको विकल्प खोज्न थालेको कुरा स्वयम् प्रधानमन्त्रीले कत्तिको बुझेका छन् ? राष्ट्रपतिको गरिमा प्रधानमन्त्रीको मर्यादालाई बचाउन नसक्नेहरु भावी दुर्घटनाका जवाफदेही बन्नुपर्ने छ ।

जनता भनेको जनार्धन हुन् सेना, पुलिस, अदालत त निमित्त पात्र मात्रै हुन् । जनतालाई लडाएर उनीहरुको हक अधिकार कुण्ठीत पार्दै उनीहरुको पुस्तौं देखि चल्दै आएको रितिरिवाजलाई भत्काएर अघि बढ्ने शासकलाई रामराम भन्न सकिएला जनताले अव काँध थाप्ने वाला छैनन् भन्ने बुझ्न जरुरी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.