ओलीको बोली र वास्तविक चरित्र

रिपोर्ट नेपाल | 2022 Nov 05 | 07:31 am 2897

महेन्द्र पाण्डेय

२०५४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले केही पालिकाहरुमा सत्ता सहयात्री दल माओवादी केन्द्रसँग चुनावी तालमेल गर्यो । तालमेलका क्रममा नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादीकी उम्मेदवारलाई साथ दिने निर्णय गर्यो । त्यतिबेला माओवादीले रेणु दाहाललाई उम्मेदवार बनाएको थियो । रेणु दाहाल नाताले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

भरतपुर महानगरपालिकामा भएको कांग्रेस माओवादी तालमेलको विषयलाई लिएर एमाले अध्यक्ष केपी ओलीले भन्नु भयो –‘छि छि छि कांग्रेस पार्टी, स्खलित हुँदा हुँदा प्रचण्डकी छोरी बोक्ने अवस्थामा पुग्यो । जसले हात खुट्टा भाँचेको छ, मान्छे मारेको छ, देशलाई तहस नहस बनाएको छ, उसैको टाङमुनी छिर्ने कांग्रेसलाई अब राम राम बाहेक केही भन्न सकिन्न ।’ त्यहीबेला ओलीले चितवनको एक सभामा ठट्यौली गर्दै आफूलाई प्रजातन्त्रको हिमायती भन्ने कांग्रेसले आज प्रजातन्त्र भन्दै माओवादी डोकोमा बोकेर हिडेको छ । अझ भन्दै छ प्रजातन्त्र । यसरी व्यङ्ग्य बाण गरेको छ महिना वित्दा नवित्दै २०७४ मंसीरमा भएको आम निर्वाचनमा ओली आफैले माओवादीसँग चुनावी गठवन्धन मात्रै गरेनन् । पार्टी एकीकरणको समेत शंखघोष गरे ।

कांग्रेसलाई ‘छिछिछि, प्रचण्डकी छोरी बोकुवा पार्टी’ भन्दै गाली गर्ने ओलीले कुन नाकले प्रचण्डलगायत सम्पूर्ण माओवादी बोके ? भन्ने प्रश्न अझै अनुत्तरित छ । २०७४ सालको आम निर्वाचनमा प्रचण्ड उम्मेदवार बनेको चितवनको क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेलाई नेपाली कांग्रेसले साथ दिएको थियो । प्रचण्डलाई भोट माग्नै चितवन पुगेका एमाले अध्यक्ष ओलीले फेरी कांग्रेसलाई कटाक्ष गर्दै भने – ‘हेर्नोस त कांग्रेस पार्टी कति दुर्गन्धित भएको, हुँदा हुँदा मण्डले बोक्न थाल्यो , सिङ्गो रुख काटेर एउटा हलो बनायो, नेपाली कांग्रेस प्रतिगमनको मतियार हो भन्ने ज्वलन्त उदाहरण यहाँ भन्दा के हुनसक्छ ?’

त्यति मात्रै होइन, नेपाली कांग्रेसले चुनाव जितेमा राजतन्त्र फर्कने उद्घोष समेत ओलीले गरे । उनले भने –‘नेपाली कांग्रेसले पूर्वपन्चहरु सँग गठजोड गरिसकेको छ, अब कांग्रेसको गन्तव्य भनेको राजतन्त्र पुनवर्हाली हो ।’ तर ओलीले यतिबेला त्यही राप्रपासँग घाँटी जोडेका छन् । यति मात्रै होइन, २०४६ सालको जनआन्दोलन र २०६३ सालको लोकतान्त्रिक आन्दोलन दबाउन मुख्य भूमिका खेलेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई केपी ओलीले सूर्य चिन्हबाटै चुनाव लडाएका छन् । तर आफूलाई कसैले प्रतिगामी भनिदियो भने ओली रिसले चुर हुँदै तीन वित्ता उफ्रेर कुर्लने गर्छन् । राप्रपासँग तालमेल गर्दा ओलीको नजरमा नेपाली कांग्रेस प्रतिगामी हुन्छ, तर राप्रपासँगै तालमेल गर्ने एमाले चाँही ओलीको नजरमा अग्रगामी हुन्छ ।
गत आम निर्वाचनमा नेपाली कांग्रेसले तराईका केही सिटमा उपेन्द्र यादव नेतृत्वको मधेसीदलसँग चुनावी तालमेल गरेको थियो । त्यो तालमेल प्रति कटाक्ष गर्दै ओलीले –‘हुँदा हुँदा नेपाली कांग्रेस खुलेआम देश विभाजनको पक्षमा उभियो, पहिले पहिले नेपाली कांग्रेस लुकी लुकी भारतको पक्षमा उभिन्थ्यो, अहिले त देखल रुपमै उभियो ।’ तर यस पटक उनै उपेन्द्र यादवको पार्टीसँग केपी ओलीले चुनावी तालमेल गरेका छन् । ओलीको नजरमा मधेसीदलसँग तालमेल गर्ना साथ नेपाली कांग्रेस भारत परस्त हुन्छ, तर आफ्नो पार्टीले मधेसीदलसँग तालमेल गर्दा राष्ट्रवाद बलियो हुन्छ ।

दोहोरो चरित्रको पराकाष्ठा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अरुका लागि शिष्टाचार सिकाउने गुरु जस्तै गरी प्रस्तुत हुन्छन् । यस अघि प्रधानमन्त्री हुँदा ओलीले नेपाली मिडियालाई समेत शिष्टाचार सिकाउने चेष्टा गरेका हुन् । ओलीको भनाई थियो –‘कम्तीमा पनि मिडियाहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई तिमी भन्ने शब्द प्रयोग नगरुन ।’ त्यतिबेला प्रधानमन्त्री ओलीले आफ्नो निवास वालुवाटारमै मिडियाका सम्पादकहरुलाई बोलाएर भनेका थिए –‘नेपाली भाषा धेरै समृद्ध छ, कुन तहकोलाई कसरी संवोधन गर्ने ? भन्ने प्रसस्त शब्दहरु नेपाली भाषामा छन्, यसलाई मिडिया जगतले ख्याल गरिदिनु पर्यो ।’

राज्यको तल्लो ओहोदामा रहेकाहरुलाई तिमी भने पनि माथिल्लो ओहोदामा रहेकाहरुलाई भने तपाँइ नै भन्नु पर्ने ओलीको फरमान थियो । अरुलाई तिमी भने पनि हुने आफूलाई तपाई भन्नै पर्ने प्रवृतिलाई सामान्तवादको परकाष्टा मानिन्छ । अत्यन्त गरिव किसान परिवारमा जन्मिएका केपी ओलीको मपाइत्व प्रधानमन्त्री बन्ना साथ एक्कासी बढ्न थालेको हो । तर अरुलाई शिष्टाचारको पाठ सिकाउने, जान अन्जानमा अरुको जिब्रो चिप्लियो भने कडा प्रतिवाद गर्दै अर्ती उपदेश दिने ओली आफै भने कति शिष्टाचारी छन् त ? ओलीले अरुका प्रति गर्ने व्यवाहार तथा भाषा कस्तो छ त ? यसबारे मिडियामा धेरै कुरा आई सकेको छ । ओलीको भाषणलाई गाली पुराण भन्ने गरिएको छ ।

नयाँ पुस्ताले सिक्ने भनेको पुरानो पुस्ताबाट हो । अघिल्लो पुस्ताले जे जस्तो चलन बसाल्यो, पछिल्लो पुस्ताले पनि त्यसैको अनुशरण गर्दै जाने हो । तर नेपालका राजनीतिकर्मीहरुमध्ये केपी शर्मा ओली यस्ता पात्र हुन्, जसले पुरानो पुस्ताका नेताहरुबाट शिष्टाचार सिक्न सकेको देखिँदैन । आफ्ना प्रतिस्पर्धी माथि छुद्र टिप्पणी गर्ने मामिलामा लोकतान्त्रिक कित्ता भन्दा कम्युनिष्ट कित्ता धेरै पहिले देखि नै माहिर रहँदै आएको हो । नेपालको कम्युनिष्ट पार्टीका पहिलो पुस्ताका नेताहरुको नाम लिनु पर्दा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, केशरजंग रायमाझी, मोहनविक्रम सिंह, निर्मल लामा, विष्णुबहादुर मानन्धर, तुलसीलाल अमात्य लगायतको नाम लिने गरिन्छ ।
कम्युनिष्ट पार्टीका पहिलो पुस्ताका यी नेताहरुले आफ्ना प्रतिस्पर्धीलाई गाली गलौज गरेको, अपशब्द प्रयोग गरेको सुनिएन । मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठ त आँखामा राख्दा पनि नबिझाउने कोटीका शालिन नेता भएको उहाँहरुका विरोधीको पनि भनाई छ । नेपाली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेतामध्ये मोहनविक्रम सिंह अहिले पनि सक्रीय राजनीतिमा छन् । ९० वर्षको उमेरमा पनि सक्रीय जीवन बिताई रहेका मोहनविक्रम सिंहका नयाँ नयाँ लेखहरु अहिले पनि हरेक साता जसो मिडियामा आइरहन्छन् । उनका लेखहरुमा अत्यन्त मर्यादित भाषा तथा शब्द पाइन्छन् । तर एमाले अध्यक्ष ओलीले आफ्ना अग्रजबाट मर्यादाको पाठ कत्ति पनि सिक्न नसकेको देखिन्छ ।

आखिर ओलीको बाट प्रभावित भएर तुच्छ शैलीको राजनीतिमा रमाए ? अर्कालाई गाली गर्दा होच्याउँदा आफ्नो उचाई बढ्छ भन्ने ठम्याइमा ओलीलाई कसले पुर्यायो ? यति सम्मकी एमाले अध्यक्ष ओली जुन अभियोगमा अर्कालाई गाली गर्ने गर्छन्, अरु माथि तुच्छ शब्द प्रयोग गर्ने गर्छन्, केही समय पछि आफु पनि त्यही बाटो अवलम्वन गर्ने गर्छन् ।

केपी शर्मा ओली नेपाली राजनीतिको यस्तो पात्र हुन्–‘जुन कुरा आफुले गर्दा अत्यन्त देशभक्ति हुन्छ, तर त्यही कुरा अर्काले गर्दा देशघाति हुन्छ । चाहे नागरिकता विधेयकको कुरा होस्, चाहे महाकाली सन्धीको कुरा होस्, चाहे संसद विघटनको कुरा होस् , चाहे अध्यादेश ल्याएर शासन गर्ने कुरा होस् हरेक प्रकरणमा केपी शर्मा ओलीले द्धैध चरित्र प्रदर्शन गरेका छन् । यस्ता उदाहरणहरु निकै धेरै छन् ।

घटना २०५२ सालको हो । त्यतिबेला नेपाली कांग्रेसले राप्रपाको सहयोग लिएर तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी विरुद्ध अविश्वासको प्रस्ताव दर्ज गर्यो । त्यो घटना प्रति केपी शर्मा ओलीले टिप्पणी गर्दै–‘हुँदा हुँदा नेपाली कांग्रेस पूर्वपन्चहरुको बैशाखी टेकेर सत्तामा जान लालयित भयो ।’ तर त्यसको ९ महिना वित्दा नवित्दै देउवा सरकार ढाल्नका लागि एमाले आफै राप्रपाको बैशाखी बन्न तयार भयो ।

बहुदलीय व्यवस्था पुनस्र्थापना पछि पूर्वपन्चलाई प्रधानमन्त्री बनाउने अभियानको नेतृत्व केपी शर्मा ओलीले गरेका हुन् । महकाली सन्धीको कुरा गर्ने हो भने यसको उद्गम कर्ता केपी शर्मा ओली नै हुन् । टनकपुर सन्धीको विरोध तथा अरुण तेस्रो जलविद्युत आयोजना फिर्ता गर्ने अभियानको नेतृत्व केपी शर्मा ओलीले नै गरेका हुन् । टनकपुर सम्झौता अनुमोदन नहुँदा र अरुण तेस्रो जलविद्युत आयोजना रद्ध हुँदा महाकाली सन्धी गर्नुपर्ने वाध्यतामा नेपाल पुगेको हो । एमालेको ९ महिने सरकारले अघि बढाएको महाकाली सन्धी प्रधानमन्त्री देउवाको पालामा हस्ताक्षर भयो ।

महाकाली सन्धीमा हस्ताक्षर हुना साथ ओलीले –‘कांग्रेसले देश बेच्ने सन्धीमा हस्ताक्षर गरेको छ, यसलाई कुनै पनि हालतमा सफल हुन दिँदैनौ भनेका थिए । तर केही महिना वित्दा नवित्दै महाकाली सन्धीलाई संसदको दुई तिहाई बहुमतबाट पारित गराउन ओलीले नै निर्णायक भूमिका निर्वाह गरेको तितो सत्य घाम जत्तिकै छर्लंङ्ग छ । महाकाली सन्धीको विपक्षमा रहेका आफ्ना पार्टीका सबै नेताहरुलाई ओलीले लखेटेर बामदेव गौतमहरु अर्को पार्टी खोल्न बाध्य भए ।

२०५९ जेठमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्दा केपी शर्मा ओलीको टिप्पणी थियो –‘नेपाली कांग्रेसले प्रजातन्त्र दरवारमा बुझायो ।’ तर ओली आफैले दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई– दुई पटक संसद विघटन गरे । केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा अध्यादेशबाट शासन गर्ने विकृति सुरु गरे । नागरिकता प्रमाणपत्र सम्वन्धी कानुन, संवैधानिक परिषद सम्वन्धी कानुन, राजनीतिकदल विभाजन सम्वन्धि कानुन लगायत थुप्रै अध्यादेश ओलीले ल्याएका थिए । संसदको बैठक छलेर अध्यादेश ल्याउने विकृति ओलीले नै सुरु गरेका हुन् । तर संसदको बैठक नभएका बेला वर्तमान प्रधानमन्त्री देउवाले अध्यादेश ल्याउँदा भने ओली अपशब्द नै प्रयोग गरी विरोध गर्न थालेका छन् ।

यतिसम्मकी ओलीले अध्यादेश मार्फत नागरिकता सम्वन्धी कानुन ल्याए , तर यस्तो महत्वपूर्ण कानुन अध्यादेशबाट ल्याउन नहुने भन्दा सर्वोच्च अदालतले अध्यादेश खारेज गरिदियो । पछि देउवाले ओलीले अध्यादेशमा राखेकै प्रावधान समाबेश गरेर नागरिकता विधेयक ल्याए, तर ओलीको दृष्टिमा नागरिकता विधेयक राष्ट्रघाति ठहरियो । ओलीले राष्ट्रपति विद्या भण्डारीलाई दुरुपयोग गर्दै नागरिकता विधेयक अस्वीकृत गर्न लगाए । तर यतिबेला ओली भन्दै छन्–‘एमालेले चुनाव जितेपछि नागरिकता समस्या समाधान गर्नेछ ।’

गलत नजीरका संवाहक
गाली गलौज तथा अपशब्द मात्रै होइन नेपालको राजनीतिका अनेकौ गलत नजीरका सर्जक पनि केपी ओली नै हुन् । २०४६ सालमा बहुदलीय व्यवस्था पुनवर्हाली पछि नेपाली राजनीतिमा प्रजातन्त्र सँगै अपराधीकरण पनि भित्रिएको हो । सत्ता समिकरण परिवर्तनका लागि सांसदहरुलाई खरिद विक्री गर्ने, सांसदहरुलाई अनेक प्रलोभन दिने, सांसदहरु थुनेर राख्ने, सांसदहरुलाई अपहरण गर्ने लगायत थुप्रै विकृति सुरु भयो । त्यति मात्रै होइन राज्यको संलग्नतामै सुन तस्करी गर्ने, घुस लिएर ब्यापारीहरुलाई सांसद तथा मन्त्री बनाउने, संस्थागत भ्रष्टाचार गर्ने, देश र जनतालाई ढाँट्ने लगायतका थुप्रै विकृतिहरु नेपालको राजनीतिमा संस्थागत भए । हुन त यी विकृति भित्र्याउन कांग्रेस, राप्रपा, माओवादी र एमालेका अन्य नेताहरुको पनि अहं भुमिका छ । कसको धेरै छ ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने केपी शर्मा ओली नै सबै भन्दा अगाडी छन् ।

२०५० सालमा काठमाडौं क्षेत्र नं १ मा भएको उपनिर्वाचनका क्रममा विद्या भण्डारीको सेतो साढीमा रातो मसी छ्याप्ने र त्यसको दोष नेपाली कांग्रेस माथि लगाउने षड्यन्त्र भयो । केपी ओलीको सल्लाहमा यो काम आफुले गरेको केशव स्थापितले खुलासा गरिसकेका छन् । २०५३ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाउने क्रममा ओलीको अगुवाईमा एमालेले आफ्ना सांसदहरुलाई पार्टीको केन्द्रीय कार्यालय बल्खुमा थुनेर राखेको थियो । महिला सांसदहरुलाई समेत राखिएको त्यो हलमा ब्लु फिल्म समेत देखाइएको खुलासा पनि केशव स्थापितले गरिसकेका छन् ।

पैसा लिएर राज्य लक्ष्मी गोल्छा देखि विनोद चौधरीसम्मलाई सर्वप्रथम सांसद बनाउने विकृतिका सुत्राधार पनि केपी ओली नै हुन् । त्यसो त संन्धीग्ध व्याक्ति खेम्पो छिमेछिरिङ ल्हार क्याल लामालाई आर्थिक लेनदेनका आधारमा मन्त्री बनाईको प्रकरणमा पनि तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीको नाम लिएका छन् । त्यति मात्रै होइन भन्नलाई त केपी शर्मा ओली भ्रष्टाचारीको मुख नै हेर्दिन भन्छन्, तर बालुवाटार जग्गा प्रकरणमा मुख्य विचौलिया विष्णु पौडेल एमाले अध्यक्ष ओलीका दाहिने हात हुन् । बालुवाटार जग्गा प्रकरणकै कानुन व्यवसायी कुमार रेग्मीलाई ओलीले भावि प्रधानन्यायाधीशको वरियातमा राखेर न्यायाधीश बनाई सकेका छन् । सेक्युरिटि प्रेस प्रकरणमा ७० करोड रुपैंया घुस माग्ने गोकुल बास्कोटा पनि ओलीको दाहिने हात मानिन्छन् ।

कोरोनाका बेलाका ओम्नी प्रकरण होस् या, गोकर्णको जग्गा यति होल्डिङ कम्पनीलाई भाडामा दिँदा भएको भ्रष्टाचार प्रकरण होस््, या त नारायणहिटी परिसर भित्रको जग्गा बतास समुहलाई कौडीको मुल्यमा भाडामा दिएको प्रकरण होस, केपी शर्मा ओली मुछिएका छन् । यति मात्रै होइन ३३ किलो सुन प्रकरण, नेपाल ट्रष्टको दरवार मार्गको जग्गा ५० वर्षका लागि व्यापारीलाई दिएको प्रकरण, वाइडवडी बिमान प्रकरण लगायतका कयौं प्रकरणमा ओलीको नाम मुछिएको छ । तर ओली भन्छन्, म आफु पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नेहरुको मुख पनि हेर्दिन । संसारमा यहाँ भन्दा ठूलो जोक अर्को के हुन सक्छ ?

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.