नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अरुका लागि शिष्टाचार सिकाउने गुरु जस्तै गरी प्रस्तुत हुन्छन् । यस अघि प्रधानमन्त्री हुँदा ओलीले नेपाली मिडियालाई समेत शिष्टाचार सिकाउने चेष्टा गरेका हुन् । ओलीको भनाई थियो –‘कम्तीमा पनि मिडियाहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई तिमी भन्ने शब्द प्रयोग नगरुन ।’ त्यतिबेला प्रधानमन्त्री ओलीले आफ्नो निवास वालुवाटारमै मिडियाका सम्पादकहरुलाई बोलाएर भनेका थिए –‘नेपाली भाषा धेरै समृद्ध छ, कुन तहकोलाई कसरी संवोधन गर्ने ? भन्ने प्रसस्त शब्दहरु नेपाली भाषामा छन्, यसलाई मिडिया जगतले ख्याल गरिदिनु पर्यो ।’
राज्यको तल्लो ओहोदामा रहेकाहरुलाई तिमी भने पनि माथिल्लो ओहोदामा रहेकाहरुलाई भने तपाँइ नै भन्नु पर्ने ओलीको फरमान थियो । अरुलाई तिमी भने पनि हुने आफूलाई तपाई भन्नै पर्ने प्रवृतिलाई सामान्तवादको परकाष्टा मानिन्छ । अत्यन्त गरिव किसान परिवारमा जन्मिएका केपी ओलीको मपाइत्व प्रधानमन्त्री बन्ना साथ एक्कासी बढ्न थालेको हो ।
तर अरुलाई शिष्टाचारको पाठ सिकाउने, जान अन्जानमा अरुको जिब्रो चिप्लियो भने कडा प्रतिवाद गर्दै अर्ती उपदेश दिने ओली आफै भने कति शिष्टाचारी छन् त ? ओलीले अरुका प्रति गर्ने व्यवाहार तथा भाषा कस्तो छ त ? यसबारे मिडियामा धेरै कुरा आई सकेको छ । ओलीको भाषणलाई गाली पुराण भन्ने गरिएको छ ।
नयाँ पुस्ताले सिक्ने भनेको पुरानो पुस्ताबाट हो । अघिल्लो पुस्ताले जे जस्तो चलन बसाल्यो, पछिल्लो पुस्ताले पनि त्यसैको अनुशरण गर्दै जाने हो । तर नेपालका राजनीतिकर्मीहरुमध्ये केपी शर्मा ओली यस्ता पात्र हुन्, जसले पुरानो पुस्ताका नेताहरुबाट शिष्टाचार सिक्न सकेको देखिँदैन । यसको पछिल्लो उदाहरण हो शिक्षामन्त्रि सुमना श्रेष्ठ र काठमाडौँका मेयर बालेंन शाह प्रति ओलीको टिप्पणि।