ओमिक्रोन फैलिन नदिन पूर्वतयारीमा जुट्न स्वास्थ्य मन्त्रालयको निर्देशन

| 2022 Jan 02 | 06:00 pm 1557

काठमाडौँ पुस १८ : बिश्वभरि फैलिदै गएको ओमिक्रोन नेपालमा फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र रोकथामका लागि पूर्वतयारी गर्न निर्देशन दिएका हो ।

छिमेकी मुलुक भारतमा ओमिक्रोनको संख्या ह्वात्तै बढेकोले स्वास्थ्य मन्त्रालयले सो सूचना जारी गरेको हो । पछिल्लो समय ओमिक्रोनले युरोप , अमेरिका लगायत विश्वका धेरै मुलुकलाई त्रसित बनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा विगतमा जस्तै रोग बढ्न नदिन जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न र परीक्षणको दायरा बढाउन आग्रह गरिएको छ ।

महाशाखाले सीमा नाकामा प्रवेश गर्ने यात्रुहरूको प्रोटोकल अनुसार व्यवस्थापन गर्न , भिडभाड हुने स्थानमा मास्क लगाउन र स्यानिटाइजर प्रयोग गर्न , समुदायको जोखिम क्षेत्रमा परीक्षण बढाउन, खोप प्रयोगलाई वृद्धि गर्न आग्रह गरिएको छ ।

पछिल्लो २४ घण्टामा २ सय १६ संक्रमित थपिएका छन् । कोरोनाबाट २ जनाको मृत्यु भएको छ । ५ हजार ९ सय ६२ पीसीआर र १ हजार ६ सय ६९ जनामा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा २ सय ९ जना कोरोनामुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ७१ छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.