काठमाडौँ १३ असार / गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये केवल एक सय ८६ जनाले मात्र ४ जीपीए ल्याएका छन् ।
परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए ।
परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, आन्तरिक तयारी नसकिएपछि नतिजा आज सार्वजनिक भएको छ । गत १५ चैतदेखि सुरु भएको एसइईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
बोर्डले एसइई नतिजा हेर्न परीक्षार्थीका लागि सार्वजनिक सूचना यसअघि नै जारी गरेर जानकारी दिइसकेको छ । एसइई नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ ।
आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन,मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार गर्नुपर्ने छ । एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ । वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ ।