एसईईका प्रश्‍नपत्र हरेक प्रदेशमा फरक

| 2019 Feb 17 | 07:39 am 1387

काठमाडौं, फागुन ५: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र सोधिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले चैत १० देखि देशभर सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र छपाइ थालेको छ।

जनक शिक्षा सामग्री केन्द्रको भक्तपुरस्थित सेक्युरिटी प्रेसमा सातवटै प्रदेशका लागि आवश्यक प्रश्नपत्र छपाइ थालिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। ‘प्रदेशमा सेक्युरिटी प्रेस छैन,’ उनले भने, ‘प्रश्नपत्र यहीँ छपाएर पठाउन लागेका हौं।’ एकै स्तरका तर फरक–फरक सेटका प्रश्नपत्र निर्माण गरिएको छ।

संघीय र प्रदेश सरकारको समन्वयमा एसईई परीक्षा सञ्चालन हुन लागेको हो। शिक्षा ऐनको आठौं संशोधनले एसईई परीक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ। यसअघि परीक्षा नियन्त्रण कार्यालयले एसएलसी र एसईई परीक्षा सञ्चालन गर्दै आएका थिए।

कार्यालय बोर्डमा गाभिएपछि प्रदेश, बोर्डको प्रदेश कार्यालय र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा चलाउन लागेका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत उत्तरपुस्तिका छपाइ, परीक्षा केन्द्र सञ्चालन, व्यवस्थापन र कापी परीक्षणको काम हुनेछ। बोर्डले प्रश्नपत्र छपाइ र नतिजा प्रकाशनको काम गर्ने पौडेलले बताए।

चैत २१ गतेसम्म हुने परीक्षामा नियमिततर्फ ५ लाखभन्दा बढी र आंशिकतर्फ ५० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। एसईई सञ्चालन गर्न केन्द्रीय परीक्षा व्यवस्थापन समितिको बैठक बसेर तयारी थालेको हो। अर्थ मन्त्रालयले एसईई परीक्षाका लागि बोर्डलाई २३ करोड र ७ वटै प्रदेश सरकारलाई २६ करोड विनियोजन गरेको छ। मुलुकभरका एक हजार नौ सय ६१ विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ।

प्रदेश ३ मा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा थोरै परीक्षा केन्द्र कायम भएका छन्। जिल्लास्तरमा समन्वय इकाई र प्रमुख जिल्ला अधिकारी संयोजक हुने परीक्षा व्यवस्थापन समितिले परीक्षाको अनुगमन, निरीक्षण, आवश्यक कर्मचारी छनोट र नियुक्तिको काम गर्नेछन्।

यसअघि ५ वटा विकास क्षेत्रमा क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लामा जिल्ला शिक्षा कार्यालयले उक्त काम गर्दै आएका थिए। बोर्डले ७ वटै प्रदेशका शाखा कार्यालय स्थापना गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.