उदयपुर, चैत ८: शनिबार बिहान उदयपुरमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय तिलक दनुवार रहेको प्रहरीले जानकारी दिएको छ ।
मदन भण्डारी राजमार्गको गाईघाट–चुहाडे खण्ड अन्तर्गत त्रियुगा नगरपालिका ९, झिल्के चोकमा स १ झ ४७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट उन मृत्यु भएको हो ।
रोकिराखेको स ४ प १६६२ र बा १६ प ७९२३ नम्बरको नम्बरको मोटर साइकललाई एम्बुलेन्सले ठक्कर दिँदा तीन जना घाइते भएका थिए ।
ठक्करबाट गम्भीर घाइते भएका तिलकको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
दुवै मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ । घाइते हुने सोही स्थानका ३२ वर्षीय राजकुमार दनुवार र १४ वर्षीय रोशन दनुवारलाई विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए।
एम्बुलेस चालक त्रियुगा नगरपालिका ३ का ३० वर्षीय सन्तोष खत्रीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।