काठमाडौं, बैशाख १४ः संघीय सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश सरकारमा पनि नेतृत्वविहीन बन्दै गएको छ । केन्द्रीय सत्तामा गठबन्धन फेरबदल भएपछि पार्टीले नेतृत्व गरेका चार प्रदेश सरकारमध्ये तीनवटा प्रदेश सरकार ढलेसँगै प्रदेशको नेतृत्बाट समेत एमाले च्युत भएको हो ।
मंसिर ४ को निर्वाचनपछि बनेको एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धनबाट शक्ति बाँडफाँट गर्दा एमालेका भागमा परेको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाउन नसकेपछि ती प्रदेशमा एमाले सरकार ढलिसकेका छन् ।
अहिलेसम्म एमाले नेतृत्वको सरकार केवल कोसी प्रदेशमा मात्रै बाँकी छ । कोसी प्रदेशसभामा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका आठ दलीय सत्ता गठबन्धन र वर्तमान प्रदेश सरकार गठबन्धनको बराबरी संख्या भएकाले एमाले सरकार कायमै छ । कोसीमा राप्रपाले एमालेलाई दिएको समर्थनसहित सत्ता सहयात्रा कायमै राखेको छ ।
वागमतीमा राप्रपा सरकारबाट बाहिरिएपछि कांग्रेससहितको गठबन्धनले माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएर निरन्तरतामा सहयोग गरेका हुन् । त्यस्तै, कर्णली प्रदेशमा माओवादीका राजकुमार शर्माले मुख्यमन्त्रीको जिम्मेवारी निरन्तरता पाएका छन् भने मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादवलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । कोसी प्रदेशमा सरकार फेरबदल हुँदा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने गठबन्धन दलहरूबीच सहमति भएको बताइएको छ ।
एमालेबाट गण्डकीमा खगराज अधिकारी, लुम्बिनीमा लीला गिरी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । उनीहरूलाई तत्कालीन गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र जसपालगायतका दलहरूले दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनुपरेको थियो । तर, विश्वासको मत पाउन नसकेपछि गण्डकीका मुख्यमन्त्री अधिकारी, लुम्बिनीका गिरी र सुदूरपश्चिमका रावल सरकारको नेतृत्व छाड्न बाध्य भएका हुन् ।
यता कोसी प्रदेशमा भने हिक्मत कार्कीले अहिलेसम्म सरकारको नृेतृत्व थाम्दै आएका छन् । गत पुष १० मा भएको एमाले–माओवादीसहितको सात दलीय गठबन्धन बनाएर भागबन्डामा चारवटा प्रदेशको मुख्यमन्त्री लिएको एमालेले गठबन्धन फेरबदल भएपछि केन्द्रीय सरकारबाट बाहिरिनु परेको थियो । त्यसको असर प्रदेशहरूमा समेत परेको हो ।
एमालेले मधेस, वागमती र कर्णालीमा माओवादी तथा जसपालाई सरकार बनाउन सहयोग गर्दै आफू पनि सहभागी भएको थियो । यी प्रदेशमा सत्ता सहकार्यबाट समेत एमाले बाहिरिइसकेको छ । सुदूरपश्चिमबाट ढल्न शुरू भएको एमाले नेतृत्वका प्रदेश सरकार गण्डकी हुँदै लुम्बिनीमा पनि ढलेको छ । सुदूरपश्चिममा एमाले नेतृत्वको रावल सरकार ढलेपछि कांग्रेस र माओवादी मिलेर कांग्रेसको नेता कमलबहादुर शाह नेतृत्वको सरकार बनिसकेको छ । यता गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भने नयाँ सरकार गठनको प्रक्रियामा छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि उनले नेपालको संविधानको १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश सरकार गठनका लागि दिएको समयअनुसार दलहरूले वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय पाउनेछन् । गण्डकी प्रदेशका लागि कांग्रेसका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विषयमा सत्ता गठबन्धन दलहरूबीच छलफल भइरहेको बताइएको छ । ६०सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद रहेका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि सत्ता गठबन्धन दलका नेताहरू छलफलमा जुटेका छन् । मंगलबार प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेपछि गठबन्धनका ८ दलहरू छलफलमा जुटेको नेताहरूले बताएका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपालगायतका दलहरूबीच छलफलपछि मुख्यमन्त्रीको दाबी पेस गर्ने कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीले बताए । उनले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार गठबन्धनमा रहेका ५३ जना संसादहरूको हस्ताक्षरसहित बिहीबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी भइरहेको छ ।
सत्ता समीकरण परिवर्तनका कारण केन्द्रदेखि प्रदेश सरकारबाट समेत एमाले बाहिरिनुपरेको जिकिर गर्दै नेकपा एमालेका एक नेताले नेपाल समाचारपत्रसँग भने–‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० मा एमालेसँग आएर गरेको सहमति कार्यन्वायन नगरेपछि संघीय सरकारबाट एमाले बाहिरिएको थियो । दाहालले जालझेल र षड्यन्त्र गरेर एमालेलाई सिध्याउन गठबन्धन नै परिवर्तन गर्ने अस्थिर राजनीतिक खेल खेलेपछि हामी केन्द्रीय सरकारसँग रहन सकेनौं । त्यसको प्रभाव प्रदेश सरकारमा समेत परेको हो । कोसी प्रदेशमा अहिले पनि हाम्रो सरकार कायम छ ।’ राप्रपाको समर्थन कायम रहँदासम्म कोसी प्रदेशमा भने एमाले नेतृत्वको सरकार कायमै रहन सक्ने छ । नेपाल समाचारपत्रबाट