सप्तरी, चैत २३ः जिल्लाको बोधेबर्साइन नगरपालिका ९ सुभरपट्टि स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले ३० वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिलाको खड्क नगरपालिका ७ बस्ने महोमद स्माईल रहेका छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुभरणपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
आगलागी नियन्त्रणमा एपीएफ टोली सकृय
बाँके जिल्लाको नरैनापुर गाउँपालिका ४ खोदुवामा भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
उक्त ठाउँमा रहेको ९६ वटा फुसको घरहरुमा आगलागी हुँदा करीव १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताईएको छ । सो आगलागीबाट लत्ताकपडा, गरगहना र खाद्यान्न जली नष्ट भएको बताईएको छ ।
आगलागीबारे जानकारी पाउँनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा जुटेको थियो ।
यसैगरी मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका ३ बोक्रे भन्ने स्थानमा भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
उक्त स्थानमा रहेको गंगाबहादुुर पुलामीको घरमा बिद्युतीय तार सर्ट भई आगलागी भएको बताईएको छ । आगलागीबारे जानकारी पाउँनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश उर्लावारीबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा जुटेको थियो ।
आगलागीबाट नगद, सुन, अन्नपात र लत्ताकपडा जली नष्ट हुँदा करीव १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताईएको छ ।
चोरीपैठारीको सामान बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ ईनरुवा सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र मोटर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले करीव एक लाख १३ हजार रुपैयाँ बराबरको किराना सामान तथा मोटर पार्ट्स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।