पर्सा, माघ ११ः जिल्लाको वीरगंज महानगरपालिका १६ शंकराचार्य गेट स्थित सीमा ईलाकाबाट शनिबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका २ बस्ने २२ वर्षीय जीवन बस्नेत र सोही ठाउँ बस्ने २५ वर्षीय अनुप लामा छन् ।
बा ६५ प ६९५० नम्बरको स्कुटरमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजेपाम ११ वटा, प्रोमेथाजिन ११ वटा र नोफिन ११ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त स्कुटर समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
रौतहट जिल्लाको बौधिमाई नगरपालिका ७ स्थित बंकुलबाट एपीएफ टोलीले करीव दुई लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट समरजुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुनपुरबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा प्लाष्टिकको त्रिपाल बरामद गरेको छ ।
अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले कैलाली जिल्लाको कैलारी गाउँपालिका ४ स्थित मोहनपुरबाट बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।