एपीएफ टोलीद्वारा लागूऔषधसहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Dec 23 | 08:32 pm 2569

काठमाडाैं, पुस ८ः माेरङ जिल्लाको रतुवामाई नगरपालिका २ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

फक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका ४ बस्ने २१ वर्षीय धिरज तामाङ्ग र उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षीय काजी राई रहेका छन् ।

प्रदेश नम्बर १–०२–०४० प ४९७३ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोरियाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोज ट्याब्लेट ६० वटा, डाईजोल्याव ४ वटा र फेनारगन ८ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिजुवामा बुझाईएको छ ।

यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित दरैयाँ सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ८ बस्ने २३ वर्षीय सुमन साह रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ४० वटा, डाईलेक्स डिसी ४ बोतल, स्पास्मो प्रोक्सिभन १ पत्ता, होप १ वटा र ५० ग्राम गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा मोवाईलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय रानीमा बुझाईएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित पटेर्वाबाट १५ वटा नाईट्रोभेट ट्याब्लेट तथा ८ वटा स्पास्मो प्राक्सिभनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कल्याणपुर नगरपालिका ८ बस्ने २२ वर्षीय अजयकुमार मण्डल र १८ वर्षीय महोन मण्डल रहेका छन् ।

स ५ प ८०१४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मार्डरमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.