एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

| 2020 Nov 07 | 07:52 pm 2080

रुपन्देही, कात्तिक २२ः जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखनौतियाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही गाँउपालिका १ श्रीरामपुर बस्ने अखिलेश हरिजनलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मैनीहवाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नोफिन ४४ वटा, प्रोमेथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४४ वटा र डाईजपाम ईन्जेक्सन ४४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका हरिजनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको एपीएफ टोलीले ओनेरे नामक २० बोतल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट ईलाकाबाट सोही महानगरपालिका २ छप्कैया बस्ने २३ बर्षीय सफरोज शेखलाई उल्लेखित लागूऔषधसहित पक्राउ गरिएको हो ।

एपीएफ टोलीले निज शेखलाई शंका लागि जाँच गर्दा निजले ६ वटा खेलौनाभित्र लुकाई छिपाई ल्याँउदै गरेको अवस्थामा उल्लेखित लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका शेखलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.