मोरङ, भदौ ९ः जिल्लाको केरावारी गाउँपालिका ६ स्थित चम्पाखोला नजिकैबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको केरावारी गाउँपालिका ५ बस्ने २२ वर्षीय लुकेश राई, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय अभियान राई र सोही ठाउँ बस्ने २० वर्षीय उत्सव लिम्वु रहेका छन् ।
को १० प ७६९३ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश लक्ष्मिमार्गबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजापाम ७४ एम्पुल, लुपिजेसिक ९४ एम्पुल र एभिल ९२ एम्पुल फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
यसैगरी झापा जिल्लाको बाह्रदशी गाउँपालिका २ बिरिङ्ग खोला स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव ७ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलोसहित सोही जिल्लाको झापा गाउँपालिका ३ सिमलवारी बस्ने २२
वर्षीय अमित महमद मियालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले निज मियालाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त धुलो भेटिएको तथा निजले उक्त धेलो खैरो हिरोईन भएको बताएपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका मियालाई बरामद उक्त धुलोसहित आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
चोरीपैठारीको सामानसहित पक्राउ
बारा जिल्लाको महागढीमाई नगरपालिका ९ कञ्चनपुरबाट एपीएफ टोलीले चोरीपैठारीको १५ वटा डिसहोमको छातासहित एक जनालाई पक्राउ गरेको छ
।
पक्राउ पर्नेमा सोही जिल्लाको करैयामाई गाउँपालिका ३ गोलापट्टि बस्ने २८ वर्षीय दिलीपकुमार हजरा रहेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश तेलकुवाबाट खटिएको एपीएफ टोलीले उनलाई चोरीपैठारी गरी उक्त सामान नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका हजरालाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
त्यसैगरी सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका ११ चकुवाबाट मंगलबार एपीएफ टोलीले चोरी निकासीको एक सय ७५ बोरा केराउ बरामद गरेको छ ।
सप्तकोशी नदी हुँदै छ वटा डुङ्गामा राखेर अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले उक्त केराउ लैजान प्रयोग भएको छ वटै डुङ्गा समेत बरामद गरेको छ ।
बरामद केराउ तथा डुङ्गा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र सुर्तीजन्य पदार्थ एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ थुकैला स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।