बारा, जेठ २१ः जिल्लाको बिश्रामपुर गाँउपालिका ३ स्थित सीमा ईलाकाबाट बुधबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेकाे छ । पक्रास पर्नेमा सोही ठाउँका १८ बर्षीय धनन्जय यादव रहेका छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले निज यादवलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राजेपाम ६ सय वटा र वीनसिरेक्स १ सय ४७ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।
यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
एपीएफ टोलीद्वारा अवैध गाँजा तथा सुर्तीजन्य पदार्थसहित एक पक्राउ
धनुषा जिल्लाको नगराईन नगरपालिका २ राघवपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले चार बोरा सुर्तीजन्य पदार्थ र पाँच केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ पिठिया बजारका ३१ बर्षीय राकेश कुमार मण्डल रहेका छन् ।
नेपालबाट भारततर्फ जाँदै गरेका निज मण्डललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले उक्त सुर्तीजन्य पदार्थ तथा गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डललाई बरामद सुर्तीजन्य पदार्थ तथा गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
एपीएफ टोलीद्वारा गाँजा बरामद
सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ स्थित भेडैयाबाट एपीएफ टोलीले करीब चार किलाे बढी गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीलाई देख्ने बितिकै उक्त गाँजा ल्याउने व्यक्ति झोला छाडि भागि फरार भएका थिए ।
एपीएफ टोलीले उक्त झोला जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला पारेको हो ।
यसैगरि सर्लाही जिल्लाकै गोडौटा नगरपालिका १२ राघवपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले बेवारिसे अवस्थामा रहेको करीब पाँच
किलाे गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलराउधोरणबाट खटिएको एपीएफ टोलीले उल्लेखित परिमाणको गाँजा बरामद गरेको हो ।