काठमाडौं, माघ १६: अवैध रुपमा भन्सार छली गरी ल्याएका लाखाैं रूपैयांकाे विभिन्न सामाग्री सशस्त्र प्रहरी बल (एपीएफ)ले बरामद गरेको छ ।
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित ईशराईलबाट बुधबार एपीएफ टोलीले करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको टोलीले बरामद गरेको हो ।
टोलीले उक्त सामान ल्याउन प्रयोग भएको को ५ प ९७२ र बीआर ५० एच ५८६६ नम्बरको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद गरेको सामान तथा मोटरसाईकल सेतुबन्धु भन्सार कार्यालयमा बुझाएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले बिहीबार करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवारामपुरबाट बिहीबार कै दिन एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको टोलीले बरामद गरेको हो ।
बरामद सामान टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।