एचआइभीको समस्या जति विकराल छ , त्यो भन्दा विकराल समस्या हो– परीक्षण गर्न नचाहनु

रिपोर्ट नेपाल | 2023 Jan 05 | 08:44 pm 1437

कृष्णप्रसाद सापकोटा
घटना कोरोनाको पहिलो लहरको सुरुवाती चरणको हो । चितवनको भरतपुर अस्पतालमा कार्यरत एक जना चिकित्सक बिरामीको उपचार गर्ने क्रममा कोरोना संक्रमित भए । तर लक्षण देखा परेको थिएन , रत्ननगर नगरपालिका स्थित आफ्नै घरमा गएर आइस्योलेसनमा बसे । उनी कोराना संक्रमित भएको थाह पाए पछि छिमेकीहरु लखेट्न घरमै आए ।

उनलाई लखेट्ने टोलीको नेतृत्व गरेका थिए वडा अध्यक्ष स्वंयले । प्रहरी सँग गुहार मागेपछि उनी लखेटिन बाट त बँचे , तर वडाध्यक्षको नेतृत्वमै एउटा ठूलो ब्यानरमा उनको घरको गेटमा टासियो । व्यानरमा लेखिएको थियो –‘ यो कोरोना संक्रमितको घर हो , वरिपरी कोही नजानु होला ।’ तर केही महिना भित्रै करिव एक तिहाई जनसंख्या कोराना संक्रमित भए पछि यस्तो अवस्था विस्तारै हट्दै गयो ।

एचआइभी भनेको कोरोना जस्तो बोल्दा र स्वास फेर्दा निस्कने छिटाका कारण तुरुन्तै एक व्याक्तिबाट अरु व्याक्तिहरुमा सरिहाल्ने रोग होइन । नेपालमा एचआइभी संक्रमित व्याक्ति फेला परेको ३५ वर्ष वितिसकेको छ , तर रोग लुकाएरै बाच्नु पर्ने सामाजिक वाध्यता छ । जसका कारण नेपालमा के कति एचआइभी संक्रमित छन् ? भन्ने एकिन तथ्यांक आउन सकेको छैन । बिरामी भएर अस्पतालमा पुगेका वा जोखिमको क्षेत्रमा जीवन यापन गरेकाहरुको स्वैछिक रुपमा परीक्षण हुने गरेको छ । यस्तो परीक्षणमा पनि एचआइभी संक्रमितहरुको संख्या ३५ हजार नाघेको सरकारी तथ्यांक छ । मिहिन रुपमा अनुसन्धान गर्ने हो भने नेपालमा एचआइभी संक्रमितहरुको संख्या लाखौं हुनसक्छ ।

एचआइभीको समस्या भित्र भित्रै जति विकराल छ , त्यो भन्दा विकराल समस्या हो–‘ परीक्षण गर्न नचाहनु ।’ पहिलो कुरा त यो कहिल्यै निको नहुने समस्या हो भन्ने छाप सबैको दिमागमा परेको छ । जब निको नै नहुने रोग हो भने परीक्षण गराएर थप तनाव किन लिने ? भन्ने मानसिकता देखिन्छ । अझ यो भन्दा पनि जटिल कुरा के भने आँफूलाई एच आइभी भएको कुरा अरुले थाह पाए भने जिउँदै मरेको जस्तो जीन्दगी हुन्छ भन्ने मानसिकता पनि छ । यो कुरा यथार्थ पनि हो । किनकी एचआइभीको पहिचान खुलाएर घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

अर्को कुरा एचआइभी भनेको आँफैमा रोग होइन , रोग प्रतिरोधक क्षमता कम गर्ने समस्या मात्रै हो , स्वास्थ्य प्रतिको सजगता र आवश्यक परे नियमित औषधी सेवन ग¥यो भने बिरामी हुनु पर्दैन , ज्यान पनि जाँदैन भन्ने यर्थाथतालाई जनसमक्ष पु¥याउन सरकार तथा संवन्धित निकाय चुकेका छन् । एचआइभी परीक्षण अत्यान्त गोप्य रुपमा हुन्छ , केही जानी एचआइभी पुष्टि भएको अवस्थामा उचित परामर्श सहित आवश्यक परे निशुल्क औषधीको व्यवस्था हुुन्छ भन्ने कुरामा पनि धेरैलाई थाह छैन ।

यसैगरी एचआइभी संक्रमण सर्ने मुख्य कारण भनेको असुरक्षित यौनसम्पर्क हो । नेपाली समाजले दम्पत्ति बाहेक अरुबीचको यौन सम्पर्कलाई जघन्य अपराध मान्ने गर्छ । यस्तो कुरा समाजले थाह नै पाउन नहुने अवस्था छ । झन श्रीमतीले अरु सँग यौन सम्पर्क गरेको श्रीमानले थाह पाउने तथा श्रीमानले अरु सँग यौन सम्पर्क गरेको श्रीमतीले थाह पाउने अवस्था बन्यो भने घर परिवार तुरुन्तै ट्ट्ने अवस्था छ । त्यसैले एचआइभी परिक्षण गर्न मान्दै नमान्ने समस्या छ ।

यसैगरी एचआइभी सर्नुको अर्को कारण हो । एउटै सिरिन्जद्धारा धेरैले लागु औषध प्रयोग गर्नु हो । लागु औषधका प्रयोगकर्ता पनि ससमाजमा खुल्न सक्ने अवस्था छैन । यो लागु औषधको दुव्र्यासनी हो भन्ने कुरा समाजले थाह पायो भने बहिस्कार गरिदिन्छ । एचआइभी संक्रमणका मुख्य संवाहक यौनकर्मीहरु हुन् । उनीहरुको अवस्था त लागु औषध प्रयोग कर्ताहरुको भन्दा पनि अझै भयावह छ । यौनकर्मीहरु आफ्नो व्यवसाय अत्यान्तै गोप्य रुपमा अघि बढाउन बाध्य छन् ।

पहिलो कुरा त समाजको डर , दोस्रो कुरा सरकारले यो व्यवसायलाई गैरकानुनी मानेको छ । नेपालमा यौनकर्मी महिला तथा पुरुषको संख्या के कति छ भन्ने तथ्यांक पत्ता लगाउन संभव छैन । अनुमान मात्रै गर्ने हो । राजमार्ग क्षेत्र तथा शहरी क्षेत्रको मोटामोटी अनुसन्धन गर्ने हो भने नेपालमा यौनकर्मीहरुको संख्या लाखौं रहेको अनुमान गर्न सकिन्छ । तर सामाजिक तथा कानुनी जटिलताका कारण उनीहरुलाई स्वास्थ्य परीक्षणको आवश्यकता संवन्धि चेताना दिने , यौन सम्पर्क गर्दा अनिवार्य रुपमा कण्डम प्रयोग गर्नु पर्छ भन्ने कुरा अवगत गराउन सजिलो छैन ।

झन पछिल्लो समयमा त समाजिक संजालको पहुँचका कारण गैर यौनकर्मी वीच पनि असुरक्षित यौन सम्पर्क बढ्दो छ । फेसबुक मार्फत हाइ हेल्लो ग¥यो , डेटिङ गयो अनि यौन सम्पर्क गरिहाल्यो । यसरी यौन सम्पर्क गरेको अरुले थाह पाइ हाल्छन् की भनेर कण्डम किन्न औषधी पसल सम्म जान डराउने वा लाज मान्ने प्रवृत्तिले पनि समस्या निम्त्याएको छ ।

यसैगरी लाखौ युवाहरु विदेशमा रोजगारी या अन्य काममा गएका छन् । कसैका श्रीमान विदेश गएका छन् , कसैका श्रीमती विदेश गएका छन् । स्वदेशमा एक्लै बस्ने कतिपयले यौन सन्तुष्टिका लागि बैकल्पिक उपाय प्रयोग गर्ने गरेका घटनाहरु ‘ओपन– सेक्रेट’ जस्तै छन् । यौन साथी परिवर्तन गर्ने लत नै बसेको पनि छ कतिपयलाई । त्यसैले नेपालमा एचआइभी समस्या निकै द्रुत गतिमा फैलिरहेको अनुमान गर्न सकिन्छ ।

यर्थाथमा भन्नु पर्दा नेपालमा एचआइभी संक्रमणको समस्या जति जोखमपूर्ण छ , त्यो भन्दा बढी जोखिपूर्ण समाजको चेतना स्तरको छ ।
अनुमानित तथ्यांक अनुसार नेपालमा एचआइभी संक्रमितहरुको संख्या लाखौं छ । तर एचआभी संक्रमित मध्ये करिव ३० हजार जतिको पहिचान भएको, जसमध्ये १० हजार भन्दा बढी उपचारमा नआएको सरकारी तथ्यांक छ । नेपालमा एचआएभी संक्रमितको उपचार र औषधिमा निकै प्रगति भएको भए पनि अझै ठूलो संख्यामा संक्रमित खुलेर नहाउँदा थप समस्या भएको सरकारी पक्षको भनाई छ ।

पहिचान भएका कुल संक्रमित मध्ये १४ वर्ष सम्मका एचआइभी संक्रमितहरुको संख्या ४ दशमलभ २ प्रतिशत रहेको छ । अर्थात एक हजार २६८ जना बालबालिका रहेका छन् । वार्षिक संक्रमित ७५४ जना थपिने गरेको स्वास्थ्य मन्त्रालय यौनरोग उपचार केन्द्रले जनाएको छ । जसमा ३६३ जना संक्रमितको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।

यसै गरी सन् २०१७ मा भएका सर्भेक्षणका अनुसार महिला यौनकर्मीहरुमा २ दशमलभ २ प्रतिशत र पुरुष समलिंगीहरुमा ६ दशमलभ २ प्रतिशतका दरले एचआइभीको संक्रमण रहेको पाइएको छ । पश्चिम, मध्य तथा सुदुरपश्चिममा गरिएको सर्वेक्षणले भारतमा कामदार नेपालीहरुमा एचआइभीको संक्रमण पश्चिममा शुन्य दशमलभ ३ प्रतिशत र मध्ये तथा सुदुरपश्चिममा शुण्य दशमलभ ६ प्रतिशत रहेको छ ।

नेपाल सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने छ । पहिलो ९५ प्रतिशत एचआइभी संक्रमितले आफनो संक्रमण अवस्थाबारे थाहा पाउनुपर्ने दोस्रोमा ९५ प्रतिशतमा उपचारको पहुँच हुनुपर्ने र तेस्रोमा औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनुपर्नेछ ।

एचआइभी र एड्स दुइटा भिन्न कुराहरू हुन् । एचआइभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पु¥याउँछ । एचआइभीलाई अहिले संसार भरिनै एउटा रोग भन्दा पनि संक्रममणका रूपमा हेरिन्छ । हरेक एचआइभी संक्रमितहरू एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी संक्रमितहरू अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।

एचआइभी संक्रमितसँग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र यसको संक्रमण हुने सम्भावना रहन्छ ।

एचआइभी फैलन नदिने मुख्य उपाय भनेको चेतना अभिवृद्धि नै हो । तर यसका लागि सरकारले ठोस कदम चाल्न सकिरहेको छैन । केही वर्ष अघि सम्म त सरकारले मिडिया मार्फत पनि जनचेतना फैलाउने काम गर्दै आएको थियो , तर पछिल्ला वर्षहरुमा सरकार चुकेको छ । हरेक वर्षको डिसेम्वर १ का दिन एड्स दिवस मनाउने बाहेक जनचेतना अभिबृद्धिका ठोस कार्यक्रम सरकारी स्तरबाट आउन सकेका छैनन् ।
यौन स्वास्थ्य , प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहमै जानकारी दिने , यस्ता विषयमा खुलेर कुराकानी गर्न सक्ने अवस्था बनाउने मामिलामा सरकार चुकेको छ । यतिसम्मकी एचआइभी र एड्स दुइटा भिन्न कुराहरू हुन् भन्ने जनचेतना दिन समेत सरकार चुकेको छ ।

एचआइभीका कुरा गर्दा संसार भरिनै तिन वटा शून्य अर्थात् थ्री जिरोको अवधारणा अत्यन्त चर्चित छ । प्रथम शून्यले एचआइभी संक्रमितको मृत्युदर शून्यमा पु¥याउने,दोस्रो शून्यले नयाँ एचआइभी सङ्क्रमण दर शून्यमा पूर्याउने, तेस्रोले एचआइभी संक्रमित प्रतिको भेदभाव दर शून्यमा पूर्याउने कटिबद्धता जनाउँछ ।

एचआइभीको बहु आयामिक प्रभावलाई कम गर्न नेपाल सरकारले टेकुमा विशेष रूपमा एचआइभी र यौन रोगका मुद्दाहरूमा काम गर्न राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र स्थापना गरेको छ । एचआइभी संक्रमितहरूलाई निःशुल्क रूपमा एआरभी भाइरस औषधी खान पाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्यकेन्द्रहरुमा गरेको छ ।

सुरक्षित यौन जीवन कालागि हरेक स्वास्थ्य चौकी र औषधी पसलमा कन्डम पाइन्छ । पछिल्ला दिनमा बिस्तारै यौन, प्रजनन स्वास्थ्य, अधिकार तथा यौनजन्य संक्रमणहरूमा खुल्लमखुल्ला कुरा हुन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.