काठमाडौँ २८ फागुन / रुपन्देहीको तिलोत्तमा नगरपालिका-१७ स्थित पूर्व दरखसवामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ । आज सोमबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गरेका छन् ।
गुल्मीबाट तिलोत्तमामा बसाइँ सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइ हाल कन्सल्टेन्सी व्यवसाय समेत गरिरहेका विनोद कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आईटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गरेका छन् । ।
विनोद कुँवर दम्पत्तिले रुपन्देहीको ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन सुरु गरेका हुन् । रंगशालाका अन्य पूर्वाधारहरु पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको छ ।
५ वर्षमा पूरा ‘रंगशालाका सबै पूर्वाधार गर्ने गरि काम भै रहेको जनाइएको छ। कुँवरका अनुसार ‘पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट बन्नेछ, क्रमशः बढाउँदै ५ वर्षमा २५ हजार क्षमतासहितको रंगशाला पूरा गर्ने योजना रहेको छ ।’
प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न, खेलाडी उत्पादन गर्न सहज हुने उद्घाटनका अवसरमा बताए ।
आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण छ भन्ने पुष्टि गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले धारणा राखे ।
पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट, कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे, तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहलगायतले बोल्दै रंगशाला निर्माणले क्रिकेटको उर्बरभूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताए ।