एक्सन रुमबाट स्विच अन गरेर प्रम ओलीबाट माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन

रिपोर्ट नेपाल | 2019 Nov 18 | 01:40 pm 2018

काठमाडौं, मंसिर २: सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर प्रधानमन्त्री ओलीले रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्।

उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महँगो बनाउन नहुने बताए ।

सरकारले अघि बढाएको आयोजना देश र नागरिकको हितका लागि भएकाले पनि यसमा धेरै महँगो हुनेगरी मुआब्जा लिने काम गर्न नहुने स्पष्ट पारेका थिए । प्रम ओलीले ठूला आयोजनालाई प्रतिकुल प्रभाव पार्नेगरी जग्गाको मुआब्जा लिने काम नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले सरकारले ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर देशलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको पनि बताए ।

त्रिशूली थ्री ए जलविद्युत आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्नसक्ने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिए। खासगरी उपत्यकाको विद्युत् आपूर्तिमा सन्तुलन ल्याउन र हिउँद महिनामा भारतसँग आयात हुने विद्युत् न्यूनीकरण गर्न पनि आयोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.