एकता भाँड्न नेपाल भित्र र नेपाल बाहिरबाट कसरत भए : प्रचण्ड

| 2019 Apr 22 | 03:14 pm 1766

काठमाडौं, वैशाख ९ :  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भाँड्न आन्तरिक र बाह्य कसरतहरू भएको दाबी गरेका छन्। नेकपाको जिल्ला कमिटीका अध्यक्ष र सचिवहरूको घोषणा गर्न राजधानीमा सोमबार भएको कार्यक्रममा प्रचण्डले निर्वाचनअघि र निर्वाचनपछि पनि नेकपाको एकता प्रक्रिया भाँड्न नेपाल भित्र र नेपाल बाहिरबाट कसरत भएको बताएका हुन्।

‘एकता सम्भवै हुँदैन र भैहाले पनि टिक्दैन भनेर भ्रम छरियो’, प्रचण्डले भने, ‘कम्युनिस्टहरू मिले भने देश अधिनायकवाद र निरंकुशतातर्फ जाने खतरा हुन्छ भनेर पनि आशंका सिर्जना गरियो। एकतामा जान दुबै पार्टीका नेतृत्वलाई रोक्न आन्तरिक र बाह्य कसरतहरू भए।‘

एकता नचाहनेहरूले फैलाएका आशंकालाई चिर्न आफूहरूले संकल्प गरेको उनको भनाई छ। ‘एकतालाई सुदृढ गर्न सकेनौँ भने सहिदको रगतबाट प्राप्त उपलब्धि धरापमा पर्न सक्छन् भनेर एकताको संकल्प गर्‍यौँ’, प्रचण्डले भने, ‘सानो मिहिनेत, विवेक र संकल्पले एकता सम्भव भएको होइन।‘

तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएर निर्वाचन सम्पन्न भइसकेपछि पनि एकता हुन नदिन षड्यन्त्रहरू भएको उनले बताए।

‘निर्वाचन सकेपछि पनि धेरै किसिमका कसरत नेपाल भित्र र बाहिर भए। तर नेपाली जनताको अगाडि हामीले जे संकल्प र प्रतिबद्धता व्यक्त गरेका थियौँ, त्यो मिसनमा अघि बढ्यौँ’, उनले भने।

केपी ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी केन्द्रबीच गत वर्ष जेठ ३ गते एकता भएको थिपो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.