एउटा लाइसेन्स नवीकरण गर्न पाँच घण्टा

| 2023 Mar 23 | 07:40 am 637

काठमाडौं, चैत ९ः सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’ नवीकरण गर्न कति समय लाग्ला ? २० मिनेट, आधा घण्टा वा एक घण्टा । यस्तै सोचिरहनुभएको छ भने तपाईं गलत हुनुहुन्छ । एउटा लाइसेन्स नवीकरण गर्न पाँच घण्टा कुर्नुपर्ने बाध्यता छ ।

रामेछापका श्रीकृष्ण सुवेदी काठमाडौंमा सानोतिनो व्यवसाय गरेर बस्छन् । उनले लाइसेन्स नवीकरण गर्न जाँदा पाँच घण्टा लाइन बस्नुपर्यो । त्यति गरेर पनि उनले स्मार्ट लाइसेन्स पाउन अझै कति वर्ष कुर्नुपर्ने हो ? त्यसको ठेगान छैन ।

सुवेदी कार्यालय समय खुल्नेबित्तिकै एकान्तकुनास्थित यातायात कार्यालय पुगेका थिए । उनले टोकन पाउनै झन्डै ११ बजाउनुपर्यो । लामो लाइन छिचोलेर टोकन पाएपछि बायोमेट्रिकदेखि स्वास्थ्य जाँचका लागि १ सय ४ नम्बर कोठामा पनि उनले एक घण्टा लाइनमा बस्नुपर्यो । लाइन कुरेर बसेका उनी आँखाको स्वास्थ्य जाँच गराउँदा कर्मचारीको रुखो बोली र व्यवहार खेप्नुपरेको सुनाउँछन् ।

दुई घण्टाको लाइन सकेर कोठा नम्बर १ सय ६ मा लाइन बसे । उनको पालो आउन दुई जना मात्र बाँकी रहँदा खाजा समय भएको भन्दै कर्मचारी झ्याल बन्द गरेर ४५ मिनेट जति हराए । लाइन छाडौं फेरि सुरुदेखि बस्नुपर्ने बाध्यता, नछाडौं थकाइ लागिसकेको बताउने उनले भुइँमै बसेर लाइन कुरेको सुनाए ।

खाजा समय सकेर कर्मचारी आएपछि उनको त्यहाँको काम सकिन्छ । उनी फेरि राजस्व तिर्न बैंकको लाइनमा बस्छन् । त्यहाँ २० मिनेटजति लाइन बसेपछि एउटा ‘स्लिप’ हातमा पार्छन् । यति पाउन उनलाई पाँच घण्टा बिताउनुपरेको उनको भनाइ छ । ‘लाइसेन्स कहिले आउँछ त ?’ जाने बेलामा उनले कर्मचारीलाई सोधे । ‘६÷७ महिनापछि बुझ्न आउनुहोला,’ कर्मचारीले जवाफ फर्काउँछन् ।

लाइसेन्स नवीकरणदेखि अन्य कुनै पनि काम गर्न जाने सेवाग्राहीको पीडादायी यथार्थता हो यो । सेवाग्राहीले एउटै लाइनमा २ घण्टाबढी बस्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

कार्यालय प्रमुख र कर्मचारी सेवाग्राहीप्रति जिम्मेवार नहुँदा एकान्तकुनास्थित यातायात कार्यालयमा मात्र नभएर यातायातका सबै कार्यालयमा उस्तै भीडभाड हुने गरेको छ ।

भनसुन र पहुँचवालाको भने छिनभरमै काम हुनेक्रम अहिले पनि रोकिएको छैन । बिचौलिया काममा संलग्न रहेको भन्दै प्रहरीले एकान्तकुनास्थित कार्यालय परिसरबाट एक दर्जनबढीलाई पक्राउ गरेको थियो । त्यसयता बिचौलियाको केही कमी देखिए पनि कर्मचारी भने सेवाग्राहीप्रति जिम्मेवार नदेखिएको सेवाग्राही बताउँछन् ।

एउटा नवीकरणको काम २० मिनेटमा सक्ने बनाएका छौं : कार्यालय प्रमुख
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुना ललितपुरका कार्यालय प्रमुख मदनप्रसाद पोखरेलले भने एउटा लाइसेन्स नवीकरण गर्न २० देखि २५ मिनेट मात्र समय लाग्ने दाबी गरेका छन् ।

‘पहिले के कति लाग्थ्यो त्यस’bout म जान्दिनँ, अहिले म आएपछि एउटा लाइसेन्स नवीकरणका लागि २० देखि २५ मिनेट मात्र लाग्नेछ,’ उनले राजधानीसँग भने ।

कार्यालय प्रमुख पोखरेलले गाडीको जाँचपास र नामसारीका लागि भने एक–डेढ घण्टा लाग्ने तर अन्य कामका लाागि आधा घण्टाभन्दा बढी कुनुनपर्ने अवस्था रहेको बताए । ‘कार्यालय वारिपारि रहेका कारण र दरबन्दीनुसार प्राविधिक कर्मचारी सबै नभएकाले गाडीको जाँचपाँच र नामसारीमा अलिक बढी समय लागेको हो, अन्य सेवामा लाइन नै बस्नुपर्ने बाध्यता हटेको छ,’ कार्यालय प्रमुख पोखरेलले भने । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.