काठमाडौं, भदाै ३१ः काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले मातहत कार्यालयका प्रमुखहरूलाई चाडपर्व लक्षित भरपर्दो सुरक्षा योजना तयार गरि लागू गर्न निर्देशन दिएका छन् ।
उनले शुक्रबार विशेषगरी चाडपर्वमा, पाकेटमारी, चोरी, डकैती र लुटपाटका घटना हुन सक्ने तथा बैंक वित्तिय संस्था, अति भीडभाड हुने स्थान, मेला लाग्ने मठमन्दिरलगायत क्षेत्रहरूमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन मातहत कार्यालयलाई निर्देशन दिएका हुन् ।
समुदायसँगको सहकार्यले अपराध रोकथाम र नियन्त्रणमा उल्लेखनीय भूमिका खेल्ने बताउदै विद्यालत तथा समाजमा प्रहरीको काम कर्तव्यलगायत साइबर क्राइम, लागूऔषध, ट्राफिक व्यवस्थापनलगायतका सचेतनामुलक कार्यक्रमहरू अझ बढि सञ्चालन गर्न उनको जोड छ ।
कारबाही र पुरस्कार तत्कालै गर्ने भन्दै राम्रो काम गर्नेलाई तत्काल पुरस्कृत गर्ने र कोही कसैले प्रहरी आचरणविरुद्ध प्रहरी संगठनको आँच आउने कार्य गरेमा तत्कालै सजाय गर्ने उनको चेतावनी छ । साथै आफ्नो अधिकार क्षेत्रभित्र रहेर सोही अनुसार गर्न मातहत कार्यालय प्रमुखहरूलाई समेत निर्देशन भएको छ ।
आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनसिलतामा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक व्यवस्थापनलाई योजना बनाई कार्यान्वयन गर्न तथा नागरिकहरूसँग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन–व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न धानकुले निर्देशन दिएका छन् ।