उर्जा संकटले उद्योगी मारमा

| 2022 Mar 25 | 07:43 am 2665

काठमाडाैं, चैत ११ः कोरोना कहरपछि विस्तारै लयमा आउन थालेका उद्योगको ढाडै भाँच्ने गरी अचानक नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेपछि दैनिक करोडौं घाटा खान बाध्य भएका छन् । उद्योगीहरूले उद्योग चलाउन मर्का परेको गुनासो गरे पनि विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने दाबी गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबारदेखि विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुने अवस्था नभएको प्रष्टीकरण दिए ।

उनले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्यधिक मात्रामा अकासिएकोले मंगलबारदेखि प्राधिकरणले विद्युत आयात नगरेका कारण उद्योगमा विद्युत कटौती गर्नुपरेको पनि बताए । प्राधिकरणले बिहीबार राति १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर भए पनि औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको उनले बताए । प्राधिकरणले प्रतियुनिट नेपाली ३८ रुपैयाँ दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाइ छ । भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा ४०० मेगावाटसम्म बिजुली आयात गरेर उद्योगहरूमा विद्युत दिने तयारीमा प्राधिकरण रहेको घिसिङले दाबी छ । तर, महँगोमा विद्युत आयात गरे पनि उद्योगहरूलाई विद्युतको मूल्य नबढाउने उनले बताए ।

उनले विश्वभर नै विद्युत आपूर्तिको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको तर यो छोटो समयको मात्र समस्या भएको बताए । घिसिङले भारतमा पनि विद्युत अभाव रहेका कारण प्राधिकरणले गरेको सम्झौताअनुसार विद्युत आयात गर्न नसकेकाले हालको समस्या आएको बताए । भारतमा ७० प्रतिशत कोल बेस्ड विद्युत उत्पादन हो । भारतले पनि आयात गरेको कोलबाट उत्पादित विद्युतमात्रै नेपालले आयात गर्न पाउँछ । रुस र युक्रेनबीचको युद्धका कारण भारतमा कोलको अभाव भएर मूल्य बढेका कारण त्यहाँ विद्युतको मूल्य बढेको घिसिङको भनाइ छ ।

आगामी जेठपछि विद्युत उत्पादन बढ्ने र समस्या नपर्ने दाबी गर्दै उनले असारबाट ५०० सय मेगावाट विद्युत निर्यात गर्नुपर्ने स्थिति रहेको बताए । हाल नेपालमा ८ महिना विद्युत आयात गर्नु नपर्ने अवस्था छ । तर, माग बढेका कारण आन्तरिक उत्पादनले धान्न नसकेर वर्षको ४ देखि ५ महिनाको लागि करिब ४०० मेगावाट विद्युत आयात गर्नुपर्ने अवस्था छ ।

हाल नेपालमा खपत हुनेमध्ये ३० प्रतिशत विद्युत आयातबाट धानिएको छ । घिसिङका अनुसार चालू आर्थिक वर्षको माघ महिनासम्म ४ अर्ब रुपैयाँको विद्युत आयात गरिएको छ । प्राधिकरणले यो वर्ष ८ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गर्ने आकलन गरे पनि महँगो हुँदै गएकाले करिब १० अर्बको विद्युत आयात हुने उनले बताए । छोटो समयको लागि भए पनि महँगोमा विद्युत किनेर उद्योग सञ्चालन गर्ने र लोडसेडिङ हुन नदिने दाबी पनि उनले गरे । गत वर्ष २५ अर्बको विद्युत आयात गरिएको उनले जानकारी दिए ।

भारतमा बिजुली महँगो हुने भएपछि माथिल्लो तामाकोसी, कालीगण्डकी, मध्यमस्र्याङ्दी र मस्र्याङ्दी आयोजनाको पानी जम्मा गरी साँझ पूर्ण क्षमतामा चलाउँदै आएको प्राधिकरणले बताएको छ । यी आयोजनाबाट दिउँसो कम बिजुली उत्पादन हुने गरेको छ । हाल प्राधिकरणका आफ्ना आयोजनाबाट ५२२, सहायक कम्पनीका आयोजनाबाट ३११ र निजी उत्पादकबाट ३१० मेगावाट विद्युत आपूर्ति भइरहेको छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.