काठमाडौँ २५ भदौ / नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानबिनका लागि मार्गप्रसस्त गर्न उपसभामुख इन्दिरा राना मगरलाई सुझाव दिएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझाव दिएका हुन् । उनले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताए ।
उनले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने सहास राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गरेका थिए ।
आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएर अनुसन्धान गर्ने बाटो खुल्ला गरेको स्मरण पनि बास्कोटाले गरेका छन् । प्रश्न उठिसकेपछि सामना गर्ने साहस र आँट राजनीतिक व्यक्तिमा हुनुपर्ने पनि उनले बताए ।
उनले सांसदहरूमाथि नै प्रश्न उठ्दा के गर्ने भन्ने अलमल हटाउन कानून बनाउनुपर्नेमा जोड दिए । उपसभामुखबारे सरकारले कुनै निर्णय गरे-गरेन भन्ने कुरा सरकारको नभई संसदको बिजनेस भएको उनले बताए ।