यो देश हाम्रो पनि होइन र ?

उपल्लो थलोको उपल्लै व्यथा !

रिपोर्ट नेपाल | 2021 Aug 03 | 07:40 am 2173

गोरखा : गायक प्रकाश सपुतले नयाँ गीत बनाएका छन्, ‘मेरो पनि हैन र ? यो देश’। यो गीत जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन्, उनीहरूप्रति समर्पित छ। गोरखाको उत्तरी भेगवासीले यो गीत सुन्न नपाएका पनि हुन सक्छन्। तर, गीतले भनेझैं अनागरिकजस्तो भएर बाँच्नुको पीडा कम दर्दनाक छैन।

चुमनुब्री गाउँपालिका–७ का नौ टोलका २ सय ४२ घरमा घरैपिच्छे बिरामी छन्। लक्षण कोरोनासँग मिल्दोजुल्दो छ। गाउँको स्वास्थ्य चौकीले उपचार गर्न सकेको छैन। बिरामीलाई धमाधम सदरमुकाम वा काठमाडौं लैजानुपर्ने अवस्था छ। तर, बाटो अवरुद्ध हुँदा घरेलु उपचार गराउँदै घरमै बस्न बाध्य रहेको वडाध्यक्ष पासाङ फुन्जो लामा बताउँछन्।

‘ज्वरो आउने, खोकी लाग्ने, ज्यान दुख्ने, रिंगटा लाग्ने व्यथाले म पनि सिकिस्त छु। गाउँभरि यस्तै छ’, वडाध्यक्ष लामा भन्छन्, ‘गहुँ काट्न मारामार छ। हेल्थ पोस्टका कर्मचारी पनि

मेलापातमा छन्। उपचार गर्न सदरमुकाम जान पाँच–६ दिन पैदल हिँड्नुपर्छ। बूढीगण्डकीले बगाएर बाटो छैन भन्छन्। हेलिकप्टर चार्टर गर्न खर्च छैन। बिजोग छ।’

वडा नम्बर २ मा खाद्यान्न सकिएको धेरै भयो। विगतमा चीनको तिब्बतबाट ल्याउने गरिएकामा दुई वर्षदेखि नाका ठप्प छ। सदरमुकामबाट लैजान बाढीपहिरोले दुई महिनादेखि बाटो अवरुद्ध छ। ‘गाउँमा समस्या छ। खै कसलाई भनौं ? जनप्रतिनिधि भएर पनि गुनासो गर्‍यो भन्लान्, लाज होला। बेथा कसलाई सुनाऔं ?’, वडाध्यक्ष पेम्बा रेता लामा भन्छन्, ‘राहत कोसित मागौं। राहतले पनि कति दिन टर्छ र ?’

वडा नम्बर ४ का क्वाक, छाक, प्रोकमा पनि खाद्यान्न अभाव छ। गाउँका कसैको घरमा चामल नरहेको वडाध्यक्ष पेमा डुन्डुप लामा बताउँछन्। ‘संकटै लागिसक्यो। सिस्नु र फाँडोले छाक टार्न थालेको धेरै भयो’, वडाध्यक्ष लामा भन्छन्, ‘कालले मर्न नपाइने भयो। अब भोकमरीले मर्नुपर्ने भयो।’ आफ्नो वडाका सबै पसलमा एक दाना पनि चामल नरहेको उनी सुनाउँछन्।

एक किलो नुनको २ सय ७५ रुपैयाँसम्म पर्ने गरेको चुमनुब्री–१ का वडा सदस्य मिङ्मार लामा बताउँछन्। ‘बाटोघाटो सबै बन्द छ। सबै सामान हेलिकप्टरले बोकेर ल्याउनुपरेको छ। हेलिकप्टरले प्रतिकिलो २ सय ५० का दरले पैसा लिन्छ’, वडा सदस्य लामा भन्छन्, ‘तलको बजारमा २५ रुपैयाँ प्रतिकिलो पर्ने नुनलाई यहाँ ल्याइपुर्‍याउँदा २५० रुपैयाँ हेलिकप्टर भाडा जोड्नुपर्‍यो। अलिकति व्यापारीले नाफा खान्छन्। अनि सस्तोमा पनि एक किलो नुनको २ सय ७५ रुपैयाँ परेन त ?’

वडा नम्बर ६ चुम्चेतका ६० घरमा पनि खाद्यान्न छैन। ‘भूकम्पको बेलाभन्दा अहिले पो बिजोग भयो’, वडाध्यक्ष लोप्साङ लामा भन्छन् ।’ खाद्य संस्थानले गाउँपालिकाभरिका लागि केही समयअघि डेढ सय क्विन्टल चामल हेलिकप्टरबाट ढुवानी गरी फिलिम डिपोमा गोदाम गरेको थियो। तर, बाँड्न नपुग्ने भएकाले लैजान नसकिएको वडाध्यक्ष लामा बताउँछन्।

लिका ।बाटो खुलाउन नसक्दा सात वडा र दुई दर्जनभन्दा धेरै गाउँबस्तीको अवस्था नाजुक रहेको चुमनुब्री–३ जगतका बलबहादुर गुरुङ बताउँछन्। ‘हेलिकप्टरले अलिअलि चामल ढुवानी गरेको थियो। तर, त्यसले खान पुग्दैन। प्रचार गर्न मात्र हो’, गुरुङ भन्छन्, ‘२ हजारभन्दा धेरै घरधुरी रहेको गाउँपालिकामा डेढ सय क्विन्टल चामल ढुवानी गरेर के हुन्छ र ? छिटोभन्दा छिटो बाटो खुलाएर खच्चड हिँड्न सक्ने बनाउन नसके गाउँपालिकाभरि भोकमरी हुन्छ।’

महामारीका बेला छेकम्पारको स्वास्थ्यचौकी पनि स्वास्थ्यकर्मीविहीन छ। चुमनुब्री– ४ नाम्रुङ स्वास्थ्य चौकीमा पनि कर्मचारी छैनन्। दुई जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा दुवै जना नरहेको वडाध्यक्ष पेमा डुण्डुप लामा बताउँछन्। ‘दुर्गमका बासिन्दा हामी सबै कुराबाट वञ्चित छौँ। हाम्रो समस्या सिंहदरबारमा राखिदिने पहुँच

भएका मान्छे छैनन्’, उनी भन्छन्, ‘बाउबाजेको पालादेखि हामीले एउटै समस्या भोगिरहनुपरेको छ। के सरकारले हाम्रो समस्या सुनिदिनुपर्दैन ? के हामी पनि नेपाली होइन र ?’

वडा नम्बर २ का वडाध्यक्ष पेम्बा रेता लामा भन्छन्, ‘भारतकै पनि हिमाली भेगका बासिन्दालाई विशेष सुविधाको व्यवस्था छ। हामीलाई विशेष सुविधा चाहिएन । कम्तीमा सबै ठाउँका नागरिकले पाउने सरह गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य पाउन पाए हुन्छ। के हामी यो देशको नागरिक होइन र ?’

हातमुख जोर्न कृषिबाहेक आयआर्जनको अर्को स्रोत छैन। सिकर्मी, डकर्मीका कामका साथै जडीबुटी बेचेर नुनतेल किन्नुपर्ने अवस्था छ । अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.