काठमाडौं, चैत ३: उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। अब केहीबेरमै मतगणना सुरू हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेकाकोमा ८२९ जनाले मतदान गरेका छन्। संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ सांसदले मतदानमा भाग लिएका हुन्।
गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चुन्न शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। साँझ ६ बजेभित्र निर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ।
उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्। यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेका छन्। शाक्यलाई एमालेको मात्रै समर्थन छ।