उपमेयरबाट मेयरमा फड्को

| 2022 May 27 | 08:33 am 241

काठमाडौं, जेठ १३: एक त महिला उम्मेदवार त्यसमाथि प्रमुख कार्यकारी पदमा पार्टीहरूले टिकट दिन आनाकानी गर्छन्। देशभरिका महिलामध्ये केही महिला २०७४ को निर्वाचनमा उपप्रमुखको अनुभव समेटिसकेका महिला जनप्रतिनिधिले टिकट पाएर जित निकाल्नु पनि ठूलो विषय हो। तिनै महिलामध्येका उपप्रमुखबाट प्रमुखमा दोहोरिएका महिलाहरूले अहिले स्थानीय निकायमा जित निकाल्न सफल भएका छन्।

उपमेयर हुँदा इमान्दरपूर्वक जिम्मेवारी निभाएकै कारण पार्टीले मेयरको टिकट दिएको र नगरवासीले विजयी गराएको खोटाङको हलेसी तुवाचुङकी मेयर बिमला राई बताउँछिन्। उपमेयर हुँदा न्यायिक समिति, अनुमगन समिति, राजस्व परामर्श समितिमा गरेको काम र अनुभवले अब अगाडि बढ्न सजिलो हुने उनले सुनाइन्।  ‘मेरो एउटै संकल्प नगरवासीको सेवक बनेर काम गर्ने हो,’ राईले भनिन्, ‘सरोकारवाला सबैसँग सल्लाह गरेर गुरुयोजनाका साथ हामी अगाडि बढ्छौं।’

पहिले थालेर अधुरा रहेका योजनालाई पूर्णता दिनु आफ्नो पहिलो कर्तव्य रहेको उनको भनाइ छ। ‘हाम्रो नगरपालिका सुक्खा क्षेत्रमा पर्छ। निर्माणाधीन दूधकोसी लिफ्टिङ खानेपानी आयोजना र सुनकोसी, दूधकोसी आसपासका गाउँमा सिँचाइको योजना पूरा प्रदेश र संघीय सरकारसँग समन्वय गर्नुछ,’ राईले भनिन्।

  •     ‘उपमेयर हुँदा इमान्दरपूर्वक जिम्मेवारी निभाएकै कारण पार्टीले मेयरको टिकट दियो’
  •     ‘महिला–पुरूषबीच समानता स्थापित गर्छु’

मोहनमाया भण्डारी (ढकाल) यसअघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको उपमेयर थिइन्। अब उनको भूमिका फरक भएको छ। हालै सम्पन्न निर्वाचनबाट उनी मेयरमा निर्वाचित भएकी छन्। २०७४ मा १६ हजार ३८ मत ल्याएर उपमेयर जितेकी उनले अहिले १६ हजार ३८ मत ल्याएर मेयर बनेकी छन्। शपथपछि पदभार सम्हाल्ने क्रममा उनले महिला पनि नगर हाँक्न सक्षम छन् भन्ने सन्देश प्रवाह भएको उनले बताइन्। ‘महिला आन्दोलनबाटै यहाँसम्म आयपुगेको हुँ। महिला आन्दोलनको एउटा मुद्दा महिला र पुरूषबीच व्यवहारमा समानता स्थापित गर्नुथियो,’ उनले भनिन्, ‘यसलाई पार्टीले कार्यान्वयन गर्यो, नगरवासीले सम्मान गर्नुभयो।’

तीव्र गतिमा सहरीकरण बढ्दै गरेको वीरेन्द्रनगरको सरसफाइ, ढल निकास, यातायात व्यवस्थापन, फोहोर व्यवस्थापनजस्ता पक्ष आफ्नो विशेष प्राथमिकतामा रहेको भण्डारीले बताइन्। एमालेबाट उम्मेदवार बनेकी पवित्रा महतारा झापाको बिर्तामोड नगरपालिकाको पहिलो महिला मेयर बनेकी छन्। १६ हजार ५२० मत ल्याउँदै उनी मेयर पदमा निर्वाचित भएकी हुन्।

महताराले २०७४ मा पनि लोकप्रिय मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन्। ‘स्थानीय तहमा मेरो कार्यकाल नयाँ होइन। पहिलो कार्यकालमा म उपमेयर थिए। त्यतिबेला ऐन र कार्यविधि थिएनन्। अढाइ वर्षसम्मै हामी अलमलिनुपर्ने अवस्था भयो। त्यसैकारण पहिलो कार्यकालमा गरिएका प्रतिबद्घता कहिंकतै छुटे होलान्,’ महतारा भन्छिन्, ‘पहिला भवन पूर्वाधार थिएनन्। अहिले अप्ठ्यारो नहोला भवन निर्माण भइसकेका छन्। ऐन र कार्यविधि बनेका छन्।’

अछामको पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेसबाट नगर प्रमुखको उम्मेदवार बनेकी अम्बिका चलाउने विजयी भएकी छन्। जिल्लाको १० पालिकामध्ये एक पालिका प्रमुखमा महिला उम्मेदवार विजयी भएकी हुन्। उनले ३ हजार ६५३ मत पाएकी छन्। नगरपालिकाको प्रमुखमा निर्वाचित उनी यसअघि सो पालिकामा उपप्रमुखमा २०७४ मा निर्वाचित भएकी थिइन्। कक्षा ८ मा पढ्दै गर्दा १४ वर्षको उमेरमा चलाउनेले नेबिसंघबाट राजनीति थालेकी हुन्। उनी २०६३ मा नेबिसङ जिल्ला सदस्य बनेकी थिइन्।  अन्नपूर्ण पाेस्ट अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.