उपप्रधानमन्त्री तथा रक्षामन्त्रीद्वारा जङ्गी अड्‍डाको निरीक्षण भ्रमण

| 2023 Apr 07 | 07:46 pm 621

काठमाडाैं, चैत २४ः शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जङ्गी अड्‍डाको परिचयात्मक निरीक्षण भ्रमण गरेका छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा नियुक्त भएपश्‍चात उनले पहिलो पटक जङ्गी अड्‍डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् ।

जङ्गी अड्‌डामा आयोजित विशेष कार्यक्रममा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेका अपरेशनल तथा विविध गतिविधिहरुका बारे जानकारी गराइएको थियो ।कार्यक्रममा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सदैव नेपाली जनताको शीर उँचो राख्न सफल, जनताले अत्यन्त विश्वास गरेको संस्था नेपाली सेना आफ्नो भूमिका निर्वाहमा सदैव अब्बल रहन सकेकोमा प्रधान सेनापति लगायत नेपाली सेना परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दै राष्ट्रको माटो, राष्ट्रिय एकता, स्वाधीनतासँग जोडिएको मन्त्रालय र अन्तर्गतका संस्थाहरुको महत्व अनुरुप आफ्नो रोजाईकै मन्त्रालयमा नियुक्त भई कार्य गर्न पाउँदा ज्यादै खुशी लागेको बताए ।

उनले देशको सामरिक अवस्थिती र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी रहेको बताउँदै जनताको आशा र विश्वास जगाउन रक्षा मन्त्रालय तथा नेपाली सेना मिलेर
पारीवारिक परिवेशमा कार्य गर्दै जाँदा आशातित उपलब्धी हुने हुँदा नेपाली सेनालाई कार्य सम्पादनमा मन्त्रालयबाट पूर्ण रुपमा साथ र सहयोग रहने बताए । संसारका मानिसहरुले नेपाली सेनाको विश्व शान्ति स्थापना प्रयास मार्फत नेपाललाई चिन्ने वातावरण बनेको बताउँदै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले वर्षौदेखि नेपाली सेनाले विकास निर्माणका कार्यहरुमा संलग्न रही देशका दुर्गमस्थलहरुलाई सडक सञ्‍जालमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै विभिन्न समयमा विभिन्न प्रकारका विपद् प्रतिकार्य तथा कोभिड महामारीको दौरान आफ्नो जीवनलाई हत्केलामा राखेर नागरिकको उद्धारमा सदैव खट्टिइ जनजनको मनमा बस्न सफल रहेको बताए ।

सम्बोधनकै क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले पर्यावरण संरक्षणमार्फत वातावरणीय असन्तुलनलाई सम्बोधन गरेर विश्व मानव समुदायलाई नै नेपाली सेनाले देन दिएको बताए । नेपाली सेनाले मित्रराष्ट्रका सैनिक संगठनहरुसँग कायम गरेको अद्वितीय, ऐतिहासिक सु-सम्बन्धका कारण देशले विभिन्न प्रकारका विपद् तथा महामारीमा कठिनाई भोगेका बेला समस्या समाधान गर्न सकेको प्रसंग उल्लेख गर्दै नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरे । उनले नेपाली सेनाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धी देशको गौरवसँग जोडिएको एवं सैनिक खेलाडीहरुले उत्कृष्ट खेल क्षमता प्रदर्शन गरेर प्रतियोगिता जित्‍ने तथा उच्च अनुशासन प्रदर्शन गरेर प्रतिस्पर्धी एवं दर्शकहरुको मन जित्‍ने गरेको आफूले पाएको बताए। उनले नेपाली सेनाको सर्वोपरी पेशागत दक्षताप्रति आफुलाई गर्व रहेको बताए।

निर्माणाधिन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सुरक्षा सम्बन्धि अध्ययन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्बन्धको विस्तारका क्षेत्रमा धरोहर हुने भएकोले यथासिघ्र यसको भौतिक संरचना निर्माण सम्पन्न गरेर संचालन गर्न सरकार र आफ्नो तर्फबाट सदैव सहयोग हुने कुरा बताए । बहुचर्चित राष्ट्रिय गौरवको काठमाण्डौ-तराई/मधेश द्रुतमार्ग आयोजनासँग जोडिएका नीतिगत, प्रकृयागत समस्याहरुको समाधान गर्नेतर्फ प्रयासहरु भईरहेको र उक्त आयोजनाको कार्य छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने बताए । साथै, उनले जनतासँगको निकटता र नागरिक मैत्रि हुनु नै नेपाली सेनाको विशेषता रहेको र यो नै साँचो अर्थमा लोकतान्त्रिकरण भएको कुरा उल्लेख गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले चेन अफ कमाण्ड, संस्थागत मर्यादा र सामुहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ हो भन्दै यसलाई पालना गर्न सकलदर्जा प्रतिवद्ध रहेको विश्वास व्यक्त गरे ।

कार्यक्रमको दौरान प्रधान सेनापति महारथी प्रभुराम शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूलाई बधाई ज्ञापन गर्दै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जङ्गी अड्‍डामा स्वागत गरे । उनले नेपाली सेना संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा नेपाल सरकारबाट विशेष परिस्थितीहरुमा निर्दिष्ट गरिने कानून बमोजिमका अतिरिक्त जिम्मेवारीहरु वहन गर्न सदैव तत्पर रहेको बताए । उनले बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयामिक चुनौतीहरु र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्नसक्ने सम्भावित प्रभावको प्रतिकारका लागि नेपाली सेनाको समयानुकूल आधुनिकीकरणसँगै क्षमता विकास हुन आवश्यक रहेको बताउँदै नेपाली सेना नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली जनताको अपेक्षा अनुरुप कर्तव्यनिष्ठ भई आफ्नो भूमिका निर्वाह गर्न सदैव कटिवद्ध रहेको बताए ।

सो कार्यक्रमको दौरान रक्षा सचिव श्री किरणराज शर्माले नेपाली सेनाको समग्र क्षमता विकास लगायत विद्यमान कठिनाईहरु समाधानमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूबाट जिम्मेवारी सम्हाले लगत्तै चासो तथा महत्वका साथ निर्देशनहरु प्राप्त भईरहेको बताए ।

कार्यक्रमको आरम्भमा बलाधिकृत रथी सरोज प्रताप राणाले स्वागत मन्तव्य व्यक्त गरेका
थिए । त्यस अवसरमा रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरुको उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.