उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने आज

रिपोर्ट नेपाल | 2019 Nov 07 | 08:23 am 1677

काठमाडौं, कात्तिक २१: आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन आज बिहीबार तोकिएको छ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न आज बिहीबारको दिन तोकेको हो।

आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन कात्तिक २१ गते बिहीबार शुरू हुने जनाएको छ।

कात्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

ती उम्मेदवारको अन्तिम नामावली भने कात्तिक २४ गते प्रकाशन हुनेछ। सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरूमा मतदान हुँदैछ।

आयोगका प्रवक्ता श्रेष्ठले स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कात्तिक २७ गते हुने पनि जानकारी दिए। आयोगले उपनिर्वाचनका लागि २ सय ४७ वटा मतदान स्थल र ५ सय ३७ वटा मतदान केन्द्र पनि तोकेको छ।

आयोगका प्रवक्ता श्रेष्ठले मतदानमा भाग लिनका लागि मतदाता परिचयपत्र लिएर आउन पनि आम मतदातालाई आह्वान गरेका छन्। ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले सो उपनिर्वाचनमा भाग लिनेछन्।

निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसिर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.