काठमाडौं, जेठ ४ः नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौं उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ ।
कुनै मौसमी प्रणाली विकसित भएपछि मात्र तापक्रम घट्ने र तत्काल वर्षा हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पूर्वी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।
दिउँसो देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ । मंगलबार देशको पूर्वी भूभागमा र मध्य तथा पश्चिमी पहाडी भूभागमा मध्याह्नपछि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जानकारी दिएकाे छ ।
महाशाखाको पछिल्लो जानकारी अनुसार आइतबार सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै दिपालको ३६ दशमलव पाँच, धनगढीको ३७ दशमलव पाँच, वीरेन्द्रनगरको ३४ दशमलव पाँच, दाङको ३४ दशमलव सात, पोखराको ३१ दशमलव शून्य , सिमराको ३६ दशमलव पाँच र धनकुटाको २५ दशमलव छ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेको छ ।