उपत्यकामा एमालेको पदयात्रा आज

रिपोर्ट नेपाल | 2022 Sep 17 | 07:07 am 1753

काठमाडौं, असाेज१ : नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम गर्दैछ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू हुने एमालेले जनाएको छ।

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको  संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा संविधान दिवसको अवसरका आयोजित ‘वाकथन’ कार्यक्रममा सहभागी भई राष्ट्रिय दिवस सँगसँगै मनाउन एमालेले सबैलाई आह्वान गरेको छ। संविधान दिवस साझा राष्ट्रिय दिवस भएकाले कार्यक्रममा पार्टीको झण्डा, ब्यानर नबोक्ने एमालेले जनाएको छ।

पाँचै स्थानबाट सुरु हुने पदयात्रा शहीदगेटमा एकै ठाउँ जम्मा भएर बसन्तपुर पुग्ने एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बानेश्वरबाट सुरू हुने पदयात्राको नेतृत्व गर्नेछन्। महासचिव शंकर पोखरेल पनि बानेश्वरबाट सुरू हुने पदयात्रामा सहभागी हुनेछन्।

यसैगरी लैनचौरबाट सुरु हुने पदयात्राको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ, कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट सुरू हुने पदयात्राको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्ने नेकपा (एमाले) स्थायी कमिटीका सदस्य जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले बताए। एमालेले नेता, कार्यकर्ता, सांसद लगायत सबैलाई पाँचवटा स्थानमध्ये आफूलाई पायक पर्ने ठाउँमा सहभागी हुन आह्वान गरेको छ।

पदयात्रा टोली बसन्तपुरमा पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्वर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले संविधान जारी गर्दा र कार्यान्वयनका चरणमा भोग्नुपरेका कठिनाईलाई समेत स्मरण गर्दै संविधानप्रति आम नागरिकको अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परालाई विशेष महत्व दिएको जनाएको छ। राष्ट्रिय दिवसको यस कार्यक्रमलाई एमालेले पार्टीपङ्तिमा सीमित नराखी यसको दायरा फराकिलो बनाएको हो।

निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले असोज १ गतेलाई तय गरेको हो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.