उपत्यकाको फोहोर तत्काल उठाउन माग

| 2021 Aug 28 | 07:49 am 1517

काठमाडौँ, भदौ १२ः उपत्यकाबासीले थुप्रिएको फोहोर तत्काल उठान माग गरेका छन् । उपत्यकामा फोहोर थुप्रिन थालेको एक महिना बित्न लाग्दा पनि फोहोर उठ्न सकेको छैन ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सिसडोल ल्यान्डफिल साइटसम्म जाने बाटो सफा हुन अझै १५ दिन लाग्ने बताउँदै वर्षात्ले गर्दा फोहोर ओसार्ने बाटोमा पहिरो गएकाले समस्या भएको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फोहोर उठ्ने निश्चित नभएको बताए । उजले अबको तीन दिनपछि पनि फोहोर उठाउन नसकिए आगामी दिनमा उत्पन्न हुने फोहोर व्यवस्थापन गर्ने स्थानको अभाव हुने बताए ।

उपत्यकाको फोहोर व्यवस्थापनको उद्देश्यले निर्माण भइरहेको बन्चरेडाँडा ल्यान्डफिल साइटको निर्माणमा तोकिएको समयभन्दा दुई वर्ष ढिलाइ भएकाले उपत्यकाको फोहोर व्यवस्थापन गाह्रो भइरहेको बताए । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले बन्चरेडाँडाको ल्यान्डफिल साइट निर्माणमा भइरहेको ढिलाइका बारेमा आफू अनभिज्ञ रहेको बताए ।

वर्षायामको समय र कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको समयमा फोहोरको थुप्रो लाग्दा महामारी फैलिने चिन्ता थपिएको छ । उपत्यकाको फोहोर व्यवस्थापनका लागि धादिङको बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण भइरहेको छ । लुम्बिनी–कोसी–न्यौपाने जेभीले ३५ करोड रुपियाँको लागतमा बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ ।

सो एक हजार ७९२ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । ल्यान्डफिल साइट निर्माण अनुगमनको जिम्मेवारी पाएका सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर मनोज नकर्मीसँग पटक पटक प्रयास गर्दा पनि सम्पर्कमा आउन सकेन । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.